काठमाडौं । काठमाडौं उपत्यकामा भएका विभिन्न समस्या मध्ये ट्राफिकजाम र दुर्घटना पनि एक हुन् । दैनिक सयौँको संख्यामा हुने दुर्घटना र जामले यहाँका बासिन्दा आक्रान्त बनेका छन् ।
सरकारले काठमाडौँका बढी व्यस्त सडकमा हुने सवारी जाम कम गर्न उपत्यकाका विभिन्न चोकमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माण तथा अध्ययन अघि बढाएको छ । केही आयोजना निर्मायाको चरणमा समेत गइसकेका छन् भने केही अध्ययनकै क्रममा छन् ।
यसैबीच, उपत्यकाको धेरै जाम हुनेमध्येको एक ललितपुरको ग्वार्को चोकमा फ्लाइओधर निर्माण प्रक्रिया अघि बढाइएको छ । सडक विभागले नेपालकै पहिलो ग्वार्को फ्लाइओभर निर्माणका लागि दुईसाता अघि टेन्डर आह्वान समेत गरिसकेको छ ।
सरकारले चालू आर्थिक वर्षमा उपत्यकामा व्यस्त ७ चोकमा यातायात आवागमन सजिलो बनाउन अध्ययन गर्ने नीति तथा कार्यक्रममा समेटेको छ । केन्द्रले ग्वार्को, सातदोबाटो र एकान्तकुना गरी तीन चोकमा अध्ययन गरेको भए पनि पहिलो चरणमा ग्वार्कोलाई प्राथमिकतामा राखेको हो ।
सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका नवप्रबन्ध शाखाका प्रमुख सुरज बज्राचार्यले ग्वार्को चोकमा निर्माण गर्न लागिएको फ्लाइओभरको मुख्य उद्देश्य नै ट्राफिक जाम व्यवस्थापन र दुर्घटना कम गर्नुभएको बताए ।
‘ग्वार्को चोकमा निर्माण गर्न लागिएको फ्लाइओभरको मुख्य उद्देश्य नै ट्राफिक जाम व्यवस्थापन र दुर्घटना कम गर्नु हो , यातायातका साधनहरु आवत जावत गर्दा रफ्तारमा चल्न पाउँने भएकाले जाम हुँदैन र दुर्घटना हुन पाउँदैन’ उनले चाणक्य पोस्टसँग भने ।
कुन-कुन कम्पनीले दिए आवेदन ?
सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले दिएको जानकारी अनुसार ठेक्का आह्वान गरेको एक हप्ता भित्रमा ९ वटा कम्पनीले बोलकबोल दाखिल गरेका छन् । हाल ती दरखास्तहरु आन्तरिक मूल्याङ्कनको क्रममा रहेको केन्द्रका शाखा प्रमुख बज्राचार्यले जानकारी दिए । आवेदन दिने समय बाँकी रहेकाले थप कम्पनीको पनि आवेदन आउनसक्ने उनले बताए ।
केन्द्रका अनुसार मंगलबारसम्म एमआर हिमसगरमाथा जेभी, शर्मा एण्ड को प्राइभेट लिमिटेड, लामा गोल्डेन गुड जेभी, सूर्य विकास-विकास एण्ड ब्रदर्श, इलाइट कन्ट्रक्शन कम्पनी लिमिटेड, एएनके श्रेष्ठ जेभी, कालीका कन्ट्रक्शन र आषिश समानान्तर निर्माण सेवा प्राइभेट कम्पनीले आवेदन दिएका छन् ।
प्राप्त आवेदनहरु मूल्यांकन गरी सबैभन्दा कम कबोल गर्ने कम्पनीलाई ठेक्का लगाइने छ । ठेक्का पाउने कम्पनीले २ वर्षभित्र निर्माण पूरा गर्नुपर्नेछ ।
कस्तो बन्छ फ्लाइओभर ?
८ लेन रहेको चक्रपथको बीचको चार लेनलाई माथि उचाल्न लागिएको विभागले जनाएको छ । बालकुमारीतर्फबाट आएका सवारीसाधन चार लेन उठाएर ग्वार्कोतिर लाग्ने र अर्को चार लेन तल (अहिलेको भएको ठाउँमा) हुने केन्द्रले बताएको छ । ‘फ्लाइओभर’को जम्मा लम्बाई झण्डै ५०० मिटर र उचाई छ मिटर हुनेछ । उनले भने, माथि चढ्न र झर्नका लागि र्याम हुनेछ भने माथिल्लो भागमा सुपर स्ट्रक्चर हुनेछ ।
‘फ्लाइओभर’ बीएण्डबी अस्पताल नजिकै ग्वार्कोबाट बालकुमारीतर्फ केही अघिसम्म निर्माण हुनेछ । सडकको माथिल्लो भागमा चक्रपथतर्फ जाने सवारीसाधन गुडिरहँदा तल्लो भाग (मुख्य सडक)मा मङ्गलबजारतर्फबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ दुवैतर्फ सवारीसाधन नरोकिइ चल्न सक्नेछन् । सवारीसाधन नरोकिई चल्न पाउने भएपछि स्वतः जाम नहुने विश्वास गरिएको छ ।
फ्लाइओभर बनेपछि जाम र दुर्घटना कम हुन्छ : ट्राफिक प्रहरी
फ्लाइओभर निर्माण कार्य पूरा भए ट्राफिक जाम व्यवस्थापन र दुर्घटना कम हुने ट्राफिक प्रहरीले बताएको छ । महानगरीय ट्राफिक प्रहरी प्रवक्ता संजीव शर्मा दासले दैनिक १ लाख ३० हजारसम्म सवारी आवतजावत हुने ग्वार्को चोकमा फ्लाइओभरको निर्माण प्रक्रिया अघि बढे ट्राफिक जाम व्यवस्थापनमा सहयोग पुग्ने बताए ।
‘ग्वार्कोमा फ्लाइओभर निर्माण भए धेरै सजिलो हुन्छ, यसले ट्राफिक जाम नियन्त्रणसँगै दुर्घटना कम ह्न्छ, ’ यातायाताका साधनको चाप धेरै हुने ठाउँमा फ्लाइओभर निर्माण भए ट्राफिक जाम र दुर्घटना स्वतः कम हुन्छ’ उनले चाणक्य पोष्टसँग भने ।