काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिना (साउनमा)मा उद्योग क्षेत्रमा २० अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ । कोरोना महामारीकै बीचमा उद्यमीहरुबाट २० अर्ब १८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।
विभागका अनुसार उक्त रकम लगानीमा २४ वटा उद्योग दर्ता भएका हुन् । ती उद्योगहरुले सञ्चालनपछि २ हजार २२३ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागको भनाए छ ।
गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा उद्योगको संख्या र लगानी रकम दुवैमा गिरावट आएको हो । गत वर्ष साउनमा २६ उद्योग दर्ता भएका थिए भने २४ अर्ब ६६ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाएको छ ।
विभागका सूचना अधिकारी ज्ञानेन्द्र राजुलीले गत वर्षको तुलनामा यस वर्ष नयाँ उद्योग दर्ता र लगानी प्रतिबद्धतामा केही कमी आएको बताए । ‘गत वर्षभन्दा नयाँ उद्योग दर्ता र लगानीमा थोरै कमी आएको छ,’ उनले भने, ‘तर, कोरोनाले गर्दा उद्यमीहरु थप लगानी गर्न हिच्किचाइ रहेको अवस्थामा उद्योग क्षेत्रमा २० अर्ब बढी लगानी आउनु सन्तोषजनक नै मान्नुपर्छ ।’ पछिल्लो कोरोनाको खोप लगाउने अभियान तीव्र भएकाले आगामी महिनाहरुमा नयाँ उद्योग खुल्ने क्रम बढ्न सक्ने आशा गर्न सकिने उनको भनाइ छ ।
कुन क्षेत्रमा कति उद्योग दर्ता भए ?
विभागका अनुसार चालू आवको साउनमा सबैभ्न्दा धेरै उत्पादनमूलक क्षेत्रमा ८ उद्योग दर्ता भएका छन् । सो उद्योग १२ अर्ब १० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
यसैगरी, कृषितर्फ २ वट उद्योग दर्ता भएका छन् । यी उद्योगहरु ३१ करोड रुपैयाँ लगानीमा संचालनमा आउने जनाइएको छ । यस्तै, ऊर्जातर्फ ४ नयाँ उद्योग दर्ता भएका छन् । सो उद्योगहरु ६ अर्ब १५ करोड रुपैयाँ लगानी हुने विभागले जनाएको छ । उक्त उद्योगले ११० जनले रोजगारी पाउनेछन् ।
सूचना तथा प्रविधि क्षेत्रमा एउटा उद्योग दर्ता भएको छ । १५ करोड रुपैयाँ लगानीमा सो उद्योग सञ्चालनमा आउने गरी दर्ता भएको हो ।सेवामूलक क्षेत्रमा ५ वटा उद्योग दर्ता भएको छ । सो उद्योग ५५ करोड रुपैयाँ लगानीमा निर्माण हुने गरी दर्ता भएका हुन् । यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रमा ४ वटा उद्योग दर्ता भएको छ । सो उद्योग ९१ करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको छ ।
२ अर्बको वैदेशिक लगानी प्रतिबद्धता
चालू आवको साउनमा सवा २ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । कुल १५ वटा उद्योगमा २ अर्ब २८ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।
पर्यटन र सेवामूलक क्षेत्रतर्फ समान ६/६ वटा, उत्पादनतर्फ २ र सूचना तथा प्रविधि तर्फ १ गरी कुल १५ उद्योगका लागि वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।
पर्यटनतर्फ ६ उद्योगका लागि १ अर्ब ९ करोड, सेवामूलक क्षेत्रतर्फ ६ वटा उद्योगमा ९३ करोड, उत्पादनमूलक २ उद्योगका लागि १५ करोड रुपैयाँ र सूचना तथा प्रविधि क्षेत्रमा एउटा उद्योगका लागि १० करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।