काठमाडौं । सेयर बजारमा सुधार आएको छ । आइतबार २४ अंकले घटेको बजारमा आज झिनो सुधार आएको हो ।
सूचकमा सुधार आए पनि कारोबार रकममा भने ठूलो गिरावट आएको छ । कीर्तिमानी कारोबार भएको अघिल्लो दिनको तुलनामा कारोबार रकम साढे ५ अर्बले घटेर करिब १६ अर्बमा सीमित भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ५.७५ अंकले बढेर ३१६०.०९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२७ कम्पनीको १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९३८ रुपैयाँ बराबरको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ ६ समूहको परिसूचक राताम्मे भएका छन् । उत्पादनमूलक समूह सबैभन्दा धेरै २.२८ अंकले बढेको छ भने फाइनान्स समूह ०.९६ प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएका २२७ कम्पनीमध्ये १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ कम्पनीको मूल्यमा गिरावट आएको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेशनल हाइड्रोको सर्वाधिक कारोबार भएको छ । यसको ७० करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल बैंक साढे ६४ करोड र एचआइडीसीएल झन्डै ५५ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
सामान्य अंक्ले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । जीवन विकास लघुवित्त, खानीखोला, नेशनल हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक र रिडी हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । यस्तै, रुरु जलविद्युत् र हिमालयन ऊर्जा कम्पनीको सेयरधनीले पनि ९ प्रतिशतभन्दा धेरै कमाएका छन् ।
बढ्दो बजारमा आज आइसीएफसी फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै ६.२७ प्रतिशत गुमाएका छन् ।