काठमाडौं । १ वर्ष भित्र सम्पन्न गर्नेगरी शुरू भएका काठमाडौंका दुई आकाशे पुल निर्माणले अझै गति लिन सकेका छैनन् । २०७६ वैशाखबाट निर्माण शुरू गरिएको बानेश्वर र कोटेश्वरको आकाशे पुलले गति लिन नसकेको हो ।
बानेश्वरको आकाशे पुलको पिलर ठड्याइ माथिको फाउन्डेसन समेत राखिसकिएको छ भने पुलका लागि स्टिलको पाता हाल्ने र भर्याङ निर्माण बाँकी रहेको छ ।
सडक डिभिजन काठमाडौंका सूचना अधिकारी चितरञ्जन कुमार रानले फलामको ‘कम्पोनेन्ट’ (फलामका पाता) ल्याउन बाँकी रहेको बताए । फलामका पाताहरु भारतबाट ल्याउनु पर्ने भएकाले विगतमा कोभिडका कारण ल्याउन नसकेको उनले बताए ।
‘पुलको माथि राख्ने पातो स्टिलको हुन्छ त्यो आएको छैन, भर्याङ पनि आएको छैन, फ्याक्ट्रिमै छ,’ सूचना अधिकारी रानले चाणक्य पोष्टसँग भने ।
बानेश्वरको आकाशे पुल ७६ वैशाखबाट निर्माण गर्न शुरू गरिएको हो । ९ महिना भित्र सम्पन्न गर्ने लक्ष्य सहित शुरू गरिएको यस आकाशे पुलका लागि सो पुल ३ करोड ५२ लाख रुपैयाँ बजेट छुट्याइएको थियो ।हालसम्म बानेश्वरको आकाशे पुल निर्माणका क्रममा ३५ प्रतिशत भुक्तानी भइसकेको सडक डिभिजनले जनाएको छ ।
कोटेश्वरको बन्ने/नबन्ने अझै टुंगो छैन
कोटेश्वरमा बनाइने भनिएको आकाशे पुलको विवाद भने अझै सुल्झिन सकेको छैन । आकाशे पुल निर्माणका क्रममा एयरपोर्ट जग्गा समेत मिचेर हवाई जहाज आउने क्रममा आकाशे पुलले समस्या दिने भएपछि सो पुल निर्माणको टुंगो नलागेको हो ।
कोटेश्वरमा बन्ने भनिएको आकाशे पुल लगभग नबन्ने निश्चित भएको छ । डिभिजन कार्यालयका अनुसार एक साथ शुरू गर्ने भनिएको यस आकाशे पुल स्थान नपाएको पछि रोकिने अवस्थामा पुगेको हो ।
विभागका सूचना अधिकारी रानले स्थानीयको अवरोध र यरपोर्टको जमिनका कारणले कोटेश्वरको पुल नबन्ने अवस्थामा पुगेको बताए । ‘त्यहाँका वस्ती भएका मानिसहरुले पुल बनाउन ठाउँ दिएका छैनन्, अर्कोतर्फ यरपोर्टको जमिन भएकाले छुट्टै समस्या देखापर्ने भयो, यो बन्ने निश्चत छैन,’ रानले चाणक्य पोष्टसँग भने ।
कोटेश्वरमा पुल निर्माण गर्ने कि नगर्ने अझै अनिश्चत रहेको उनले बताए । उक्त आकाशे पुल बनाउँदा जहाज ल्याण्डीङमा समस्या ल्याउन सक्ने देखिएको विभागले जनाएको छ । कोटेश्वरमा निर्माण हुने आकाशे पुलको लागि २ करोड ९० लाख रुपैयाँ खर्च छुट्याइएको थियो ।
प्राकृतिक एन्ड पवन जेभी कम्पनीले उक्त बानेश्वर तथा कोटेश्वरमा आकाशे पुल निर्माण ठेक्का लिएको छ । ९ महिना भित्र उक्त आकाशे पुल निर्माण भइसक्नुपर्ने सम्झौता भए पनि विभिन्न अवरोधका कारण निर्माणमा ढिलाई हुँदै आएको छ ।