काठमाडौं । नबिल बैंक गत आर्थिक वर्षमा सबैभन्दा धेरै नाफा कमाउने वाणिज्य बैंक बनेको छ ।
बैंकले सोमबार सार्वजनिक गरेको गत आव २०७७/७८ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ४ अर्ब ५० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो २७ वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हो ।
यो अघिल्लो आव २०७६/७७ को सोही अवधिको तुलनामा ३०.०६ प्रतिशत बढी हो । बैंकले यस आवमा ३ अर्ब ४६ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानीका साथै संचालन नाफा बढेसँगै बैंकको खुद नाफा बढेको हो । बैंकको खुद ब्याज आम्दानी १०.६४ प्रतिशतले बढेर ७ अर्ब ७२ करोडमा पुगेको छ । यस्तै, बैंकको संचालन नाफा २६.३६ प्रतिशतले बढेर ६ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
१३ अर्ब ८४ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १९ अर्ब ४८ करोड रुपैयाँ संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा ४ अर्ब १४ करोड ८२ लाख रुपैयाँ छ।
असार मसान्तसम्ममा बैंकले २ खर्ब २३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १७.१२ प्रतिशत र कर्जा लगानी विस्तार ३३.८१ प्रतिशतले सुधार भएको हो।
खुद नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी ३४.३० रुपैयाँबाट घटेर ३२.५४ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २४०.७३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४१.७७ गुणा, सीसीडी अनुपात ७९.२२ प्रतिशत, आधारदर ५.८६ प्रतिशत र स्प्रेडदर ३.७९ प्रतिशत र खराब कर्जा ०.७८ प्रतिशत रहेको छ ।