काठमाडौं । शिखर इन्स्योरेन्सको खुद नाफामा सामान्य सुधार भएको छ । कम्पनी आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ४७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५.६८ प्रतिशत बढी हो। अघिल्लो आवमा शिखरले ४५ करोड १ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले पुनर्बीमा कम्पनीको कमिशनबाट ६० करोड ६७ लाख रुपैयाँ र ऋण लगानी तथा अन्य स्रोतबाट १३ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ ।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ९.४६ प्रतिशत बढेर १ अर्ब २९ करोड ७६ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ९७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
हाल १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५७ करोड २० लाख रुपैयाँ संचित छ । यस्तै, महाविपत्ती कोषमा १३ करोड २३ लाख रुपैयाँ रहेको छ।
असार मसान्तसम्म इन्स्योरेन्सले १९ हजार १८१ दाबीबापत १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १२ हजार ९६५ दाबीबापत २ अर्ब १ करोड २ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
चुक्ता पूँजी वृद्धिको अनुपातमा खुद नाफा बढाउन नसक्दा कम्पनीको १५.५३ रुपैयाँ घटेर २७.५ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ २१८.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७२.१५ गुणा रहेको छ ।