विकास बैंकमा उछाल आउँदा नेप्सेमा नयाँ कीर्तिमान, यी १० कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारले फेरि नयाँ कीर्तिमान बनाएको छ । विकास बैंकको सेयरमा उछाल आउँदा नेप्सेले आज नयाँ रेकर्ड बनाएको हो ।

 

आज नेप्सेले ३१७८ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३१७५ विन्दु माथि पुगेको इतिहासमै पहिलोपटक हो । यसअघि बुधबार मात्रै नेप्सेले इतिहासकै सर्वाधिक ३१६२ विन्दुको रेकर्ड बनाएको थियो ।

 

सूचकले नयाँ रेकर्ड बनाएको दिन कारोबार रकममा पनि उछाल आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्बले बढेर साढे १७ अर्ब नाघेको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से १६.३२ अंकले बढेर ३१७८.९१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको १७ अर्ब ७१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँ बराबरको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ ६ समूहको परिसूचक राताम्मे भएका छन् । विकास बैंक समूह सबैभन्दा धेरै ६.३७ प्रतिशतले बढेको छ भने व्यापार समूह १.५१ प्रतिशतले घटेको छ ।

 

आज कारोबारमा आएका २२५ कम्पनीमध्ये ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज पनि माथिल्लो तामाकोशीकोे सर्वाधिक कारोबार भएको छ । यसको साढे ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा कामना सेवा विकास बैंक ५८ करोड र साइन रेसुंगा डेभलपमेन्ट बैंक ४८ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज ७ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । महालक्ष्मी, साइन रेसुंगा, कामना सेवा विकास बैंक, रुरु जलविद्युत्, माउन्टेन इनर्जी र जीवन विकास लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

यस्तै, युनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । यसैगरी, श्री इन्भेटमेन्ट, रैराङ हाइड्रोपावर र सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनीले पनि ७ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

 

बढ्दो बजारमा आज पाँचथर पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै ३.९९ प्रतिशत गुमाएका छन् ।

आइएमई लाइफले क्यान्सर लागेका बीमितलाई दियो २५ लाख Read Previous

आइएमई लाइफले क्यान्सर लागेका बीमितलाई दियो २५ लाख

नयाँ बजेटमा स्रोत बिनाका योजना कटौती, राष्ट्रिय गौरवका आयोजना निरन्तरता Read Next

नयाँ बजेटमा स्रोत बिनाका योजना कटौती, राष्ट्रिय गौरवका आयोजना निरन्तरता