काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन्।
मन्त्रालयले आइतबार ३ दिनभित्र स्पष्टीकरण पेश गर्न भट्टराईलाई पत्र काटेको थियो । आचरण र अनियमितताको आरोप लगाउँदै सरकारले साउन १९ गते स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
भट्टराईले मन्त्रालयलाई स्पष्टीकरण बुझाउनुको साटो पदबाट राजिनामा दिएका हुन् । सरकारले स्पष्टीकरण सोधेपछि भट्टराईले सोमबार आफूले गरेका कामको विवरण सार्वजनिक गर्दै राजनीतिक पूर्वाग्रह साँधिएको भन्दै प्रष्टीकरण नदिने बताएका थिए ।
‘रेल सञ्चालनका लागि गर्नुपर्ने पूर्व तयारी रहेको अवस्थामा प्रक्रियालाई नै गम्भीर असर पर्ने गरी राजनीतिक प्रतिशोधबाट पूर्वाग्रही ढंगले पूर्ववर्ती सरकारले नियुक्त गरेका सबै नियुक्तिहरु खारेज गर्ने भन्ने वर्तमान सरकारको घोषित नीति अनुरुप वर्खास्त गर्ने उद्देश्य लिई मलाई सफाइ पेश गर्न भनिएको थियो,’ उनले राजीनामा पत्रमा भनेका छन् ‘आजकै मितिदेखि लागु हुने गरी नेपाल रेलवे कम्पनी लिमिटेडको महाप्रबन्धक पदबाट राजीनामा दिएको छु।’
सरकारी जिम्मेवारीमा रहे पनि भट्टराईले मर्यादा विपरीत राजनीतिक दलका नेताहरुप्रति अभद्र र तुच्छ टिप्पणी गर्दै आएका छन् । उनलाई पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीले नियुक्त गरेका थिए ।