काठमाडौं । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको यो दोस्रो पटक हो । यसअघि २०७३ साल भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङ गत २०७७ भदौ २९ गते ४ वर्षे कार्यकाल सकेर बिदा भएका थिए ।
घिसिङको कुशल व्यवस्थापकीय क्षमताका कारण कहालीलाग्दो १८ घण्टे लोडसेडिङ हटेको भए पनि तत्कालीन खड्गप्रसाद ओली सरकारले उनको कार्याकाल थप गरेको थिएन ।
घिसिङलाई कार्यकारी निर्देशक बनाएसँगै प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद (सचिव) सरहको पूर्ण कालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय गरिएको छ ।