जापानबाट थप ३ लाख डोज खोप आइपुग्यो

काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब थप ३ लाख खोप आइपुगेको छ ।

 

कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको ३ लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए।

 

जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै शनिबार ५ लाखमात्रा खोप आएको थियो । बाँकी खोप एक सातापछि आउने मन्त्रालयले जनाएको छ ।

 

यसअघि शुक्रबार भुटानबाट दुई लाख ३० हजार मात्रा कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप पहिलो मात्रा लगाएका नागरिकलाई लगाइनेछ ।

 

हालसम्म खरिद र अनुदान गरेर करिब १ करोड मात्रा खोप स्वदेश आइपुगेको छ । नेपालले ६० लाख मात्रा खोप खरिद गरेको छ । चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको छ । भारतबाट खरिद गरिएकामध्ये १० लाख मात्रा खोप अझैसम्म आपूर्ति भएको छैन ।

 

यसैगरी भारतबाट अनुदानमा ११ लाख कोभिशिल्ड (नेपाली सेनासहित) प्राप्त भएको छ । चीनबाट १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ । यस्तै गाभीबाट तीन लाख ४८ हजार कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जे एण्ड जे खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

 

खोपको नियमित आपूर्ति हुन थालेपछि सरकारले खोप केन्द्र पनि थप गरिएको छ । खोप केन्द्रमा भीडभाड देखिएको र खोप लगाउनेबाटै सङ्क्रमण फैलनसक्ने देखिएपछि सरकारले एक हजार ४३३ खोप केन्द्र थप गरेको हो ।

 

पहिले दुई हजार ९८९ खोप केन्द्र भएकामा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पुर्याइएको छ । काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरी १४९ पुर्याइएको छ ।

जाजरकोट-जुम्ला जोड्ने सुरुङमार्गको अध्ययन शुरु Read Previous

जाजरकोट-जुम्ला जोड्ने सुरुङमार्गको अध्ययन शुरु

हाइड्रोको सेयरमा लगानीकर्ताको उच्च आकर्षण, यी ११ कम्पनीका लगानीकर्ता मालामाल Read Next

हाइड्रोको सेयरमा लगानीकर्ताको उच्च आकर्षण, यी ११ कम्पनीका लगानीकर्ता मालामाल