काठमाडौं । पछिल्लो समय धमाधम प्राइभेट कम्पनीहरु पब्लिकमा रुपान्तरण हुन थालेका छन् । सर्वसाधरणमा सेयर (आइपीओ वा एफपीओ) निष्कासन गरेर कम्पनीमा सार्वजनिक लगानी भित्र्याउने उद्देश्यका साथ कम्पनीहरुले आफ्नो स्वामित्व परिवर्तन गराउन थालेका हुन् ।
पछिल्लो समय अस्पताल, सूचना प्रविधि कम्पनी, संचारमाध्यम, उत्पादनमूलक उद्योग, सिमेन्ट उद्योग, होटल लगायत प्राइभेट कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण भएका छन् ।
यसैक्रममा, २ वर्ष अघि संचालनमा आएको पाँच तारे होटल अलफ्ट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ। पब्लिक कम्पनी बनेसँगै अब होटलले सर्वसाधरणमा सेयर जारी गर्न पाउनेछन् । पब्लिक बनेको १ वर्षपछि सेयर जारी गर्न पाउने व्यवस्था छ ।
कोरोनाले थला परेको होटललाई आइपीओ जारी गरी थप पूँजी जुटाउन सहयोग पुग्नेछ । अलफ्ट अन्तरराष्ट्रिय होटल चेन मेरियट इन्टरनेशनलकै ब्राण्ड हो ।
ठमेलको छायाँदेवी कम्प्लेक्स रहेको यस होटलमा २ अर्ब रुपैयाँ लगानी भएको जनाइएको छ । १४ तले कम्लेक्सको सातौं तलादेखि माथिमा ७ वटा तलामा होटल रहेको छ। होटलमा १६७ वटा कोठा (१३ वटा सुइट रुम र १५४ डिलक्स) कोठा छन् ।