ठडिँदै भूकम्पले भत्किएका घर, ७ लाख निजी आवास पुनर्निर्माण, अन्य संरचनाको के छ अवस्था ?

"पुसदेखि बाँकी काम विभागलाई हस्तान्तरण गरिने"

काठमाडौं । वि.सं. २०७२ को विनाशकारी भूकम्पले क्षति पुगेका ८२ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार असार मसान्तसम्म ७ लाख ३ हजार ३०७ जनाले निजी आवास पुनर्निर्माण सम्पन्न गरी तेस्रो किस्ताबापतको रकम लिएका हुन् ।

 

प्राधिकरणले निजी आवास अनुदान वितरणका क्रममा आर्थिक वर्ष २०७७/७८ सम्ममा कुल ८ लाख ६६ हजार १६० जनाले निजी आवास निर्माणका लागि सम्झौता गरेका छन् । सम्झौता गरेकामध्ये ८ लाख २८ हजार ७६३ जनाले पहिलो किस्ता लिएका छन् । यस्तै, ७ लाख ५० हजार ४५९ जनाले दोस्रो किस्ताबापतको रकम लिएका छन् ।

 

सम्झौता गरेकामध्येबाट हालसम्म ७ लाख ५८ हजार ७९३ जनाले घर निर्माण कार्य शुरु गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले २०७८ असार मसान्तसम्ममा कुद दर्ता भएका ६ लाख ३४ हजार ९७३ गुनासो सुनुवाइ गरेको छ ।

 

यस्तै, पुनरावेदन समितिमा दर्ताका लागि संकलित ५३ हजार पुनरावेदन पत्रहरु मध्ये कूल १५ हजार पत्रहरुको जाँचबुझ सहित दर्ता गरिएको र ९ हजार ५४२ को फैसला भएको छ । अध्ययन गरिएका कूल ४ हजार ७२० संभावित जोखिमयूक्त बस्तीहरु मध्ये २९९ वटा स्थानान्तरण कार्य सम्पन्न हुने चरणमा रहेको प्राधिकरणले जनाएको छ ।

 

विभागले कुल १२ हजार ७८८ भूमिहीन लाभग्राहीहरुलाई जग्गा व्यवस्थापन सहित घर निर्माणको सुनिश्चितता गरेको छ । प्राधिकरणमा माग भई आएका कूल १२० वटा एकीकृत बस्ती निर्माण तथा सुधार गर्नुपर्नेमा कुल ६८ वटा सम्पन्न भई बाँकी ५२ वटा निर्माणाधीन अवस्थामा रहेको छ ।

 

६ हजार ६४७ विद्यालय भवन निर्माण सम्पन्न

 

प्राधिकरणले पुनर्निर्माण गर्नुपर्ने कुल ७ हजार ५५३ विद्यालय भवन मध्ये हालुम्म ६ हजार ६४७ भवन निर्माण सम्पन्न गरेको हो । हाल ९०६ विद्यालय भवन अझै निर्माणाधीन अवस्थामा रहेका छन् ।

४९ हजार ६८१ कक्षा कोठा मध्ये हालसम्म ४६ हजार ३४६ कक्षाकोठा निर्माण सम्पन्न भएको छ । बाँकी ३ हजार २४८ कक्षा कोठा निर्माणाधीन अवस्थामा रहेका छन् ।

 

यस्तै, २ हजार ९४९ शौचालय पुनर्निर्माण गर्नु पर्ने मध्ये २ हजार ३८४ पुनर्निर्माण सम्पन्न भएको छ । बाँकी ५७५ शौचालय निर्माणाधीन अवस्थामा रहेको छ । खानेपानीतर्फ १ हजार ६७० पुनर्निर्माण गर्नुपर्ने मध्ये १ हजार २७१ खानेपानी निर्माण सम्पन्न भइसकेको छ । बाँकी ३९९ निर्माणाधीन अवस्थामा रहेका छन् ।

 

३५४ स्वास्थ्य संस्था निर्माणधीन अवस्थामा

 

कुल १ हजार १६४ वटा स्वास्थ्य संस्था पुनर्निर्माण गर्नुपर्ने मध्ये ७५१ वटा पुनर्निर्माण काम सम्पन्न भएको छ । बाँकी ३५४ स्वास्थ्य संस्थान निर्माणाधीन अवस्थामा रहेका छन् ।

 

५९६ पुरातत्विक तथा साँस्कृतिक सम्पदा पुनर्निर्माण

 

भूकम्प प्रभावित भएका ३१ जिल्लामा कुल ९२० पुरातात्विक सम्पदा पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म ५९६ वटाको पुनर्निर्माण सम्पन्न भएको छ । बाँकी १९५ वटा पुरातात्विक संरचनाहरु निर्माणधीन अवस्थामा रहेका छन् ।

 

विश्व सम्पदासूचीमा परेका १७० वटा पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म ११६ वटा संरचना पुनर्निर्माण भइसकेका छन् । बाँकी ४३ वटा संरचना निर्माणाधीन अवस्थामा रहेका छन् । थप ११ वटा संरचना निर्माण हुन बाँकी नै रहेका छन् ।

 

उपत्यका भित्रका ३ जिल्लामा कुल ४६ वटा संरचना पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म २४० वटाको निर्माण सम्पन्न भएको हो । बाँकी ७८ वटा संरचना निर्माणाधीन अवस्थामा रहेका छन् । थप ८८ वटा संरचना निर्माण हुन बाँकी नै रहेको छ ।

उपत्यका बाहिर ३४४ संरचना निर्माण गर्नुपर्नेमा २३० वटा संरचना निर्माणसम्पन्न भइसकेको छ । बाँकी ७४ वटा संरचना निर्माणाधीन अवस्थामा रहेका छन् । थप ४० वटा संरचना निर्माण हुन बाँकी रहेका छन् ।

 

सडक तथा खानेपानी संरचना पुनर्निर्माण अवस्था

 

पुनर्निर्माणका क्रममा स्थानीय स्तरका ४२ सडकहरु मध्ये २२ वटा सडकमा पुनर्निर्माणको काम सम्पन्न भएको छ । कुल ६६४ किलोमिटर सडक पुनर्निर्माण गर्नुपर्ने मध्येमा हालसम्म ४३७ किलोमिटर स्थानीय स्तरका सडक पुनर्निर्माण भएका हुन् । बाँकी २२७ किलोमिटर सडक हाल निर्माणाधीन अवस्थामा रहेका छन् ।

 

१४ वटा सडक पुल पुनर्निर्माण गर्नुपर्ने मध्येमा हालसम्म ९ वटा पुल सडक पुनर्निर्माणको काम सम्पन्न भएको हो । निर्माणाधीन अवस्थामा रहेका बाँकी ५ वटा सडक पुलको समेत ५० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

 

रणनीतिक सडक मध्ये कुल १०० किलोमिटर सडक पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म ८८ किलोमिटर सडक पुनर्निर्माणको काम सम्पन्न भएको छ । बाँकी १२ किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको प्राधिकरणले जनाएको छ ।

 

पुनर्निर्माण वित्तीय अवस्था

 

गत आर्थिक वर्ष २०७७/७८ मा कुल ४ खर्ब ८८ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सो मध्ये ३ खर्ब ७१ अर्ब ५३ करोड रुपैयाँ खर्च भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

 

चालू आर्थिक वर्षका लागि पुनर्निर्माणमा कुल ६२ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । पुन निर्माणका क्रममा विभिन्न दातृ निकायहरुबाट ४ खर्ब १० अर्ब रुपैयाँको प्रतिवद्धता आएको छ ।

 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले प्राधिकरण मार्फत व्यवस्थापन हुनुपर्ने पुनर्निर्माणको मूलभूत कार्य सम्पन्नताको अन्तिम चरणमा पुगेको बताए । निजी आवास पुनर्निर्माणको कार्य अवधि २०७८ पौष १० गतेभित्र सम्पन्न हुनेछ ।

 

पुसदेखि  बाँकी रहेका काम अन्य विभागलाई हस्तान्तरण हुने

 

प्राधिकरण निर्देशक समितिको १७औँ, १८औँ र १९ औँ बैठकका निर्णयका अनुसार बाँकी रहेका योजना तथा कार्यहरु विभिन्न विभाग तथा संस्थानलाई हस्तान्तरण हुने छन् । निजी आवासतर्फको बाँकी कार्यको प्राविधिक व्यवस्थापन शहरी विकास तथा भवन निर्माण विभाग मार्फत हुने छ ।

 

प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीले शैक्षिक संस्था पुर्ननिर्माणको बाँकी कार्यको व्यवस्थापन शिक्षा, विज्ञापन तथा प्रविधि मन्त्रालय मार्फत हुने बताए ।

 

उनले सरकारी भवन, स्वास्थ्य संस्था र हाल केन्द्रीय आयोजना कार्यान्वयन ईकाई मार्फत संचालित केही गुम्बा र एकृकीत वस्ती विकास पुनर्निर्माणको काम शहरीवकास तथा भवन निर्माण विभाग मार्फत हुने जानकारी दिए ।

 

यस्तै पुरातात्विक सम्पदाहरु (१वर्ष भन्दा पुराना गुम्बा) को व्यवस्थापन पुरातात्व विभागले हेर्ने छ । प्राधिकरणबाट हस्तान्तरण हुने योजना २०७८ पुस १० गतेपछि सम्बन्धित निकाय अन्तर्गत बजेट व्यवस्थापन हुने उनको भनाइ छ ।

करदाता कार्यालय तौलिहवामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर Read Previous

करदाता कार्यालय तौलिहवामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

अब कर्णालीमा पनि अनलाइनबाटै सवारी दर्ता गर्न सकिने Read Next

अब कर्णालीमा पनि अनलाइनबाटै सवारी दर्ता गर्न सकिने