६० करोडको आइपीओ ल्याएको सानिमा लाइफमा बैंकदेखि एनआरएनसम्मको लगानी, कसको कति ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको बुधबादेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको छ।

 

कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख कित्ता) कम्पनीका कर्मचारी र अर्को ५ प्रतिशत (३ लाख कित्ता) नै सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी ५४ लाख हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको आइपीओमा साउन २४ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिभित्र विक्री नभएका भने ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

 

लघुवित्तको आइपीओमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखाका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।कम्पनीको सेयर विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

 

सञ्चालनमा आएको ४ वर्षमा ११८ शाखा/उपशाखा विस्तार

 

सानिमा लाइफ इन्स्योरेन्स, कम्पनी ऐन २०६३ अन्तर्गत स्थापना भई बीमा ऐन २०४९, बीमा नियमावली २०४९ बजोजिम जीवन बीमा व्यवसायको कारोबार गर्ने कम्पनी हो ।

 

इन्स्योरेन्सले २०६४ मंसिर १३ गते कम्पनी रजिस्टर कार्यालयमा पब्लिक कम्पनीका रुपमा दर्ता भएको थियो भने २०७४ कात्तिक ५ गते बीमा समितिबाट इजाजत पाएको थियो  । कम्पनीले २०७४ मंसिर २२ गतेदेखि औपचारिक रुपमा कारोबार शुरु गरेको थियो ।

 

सञ्चालनमा आएको ४ वर्षको अवधिमा इन्स्योरेन्सले देशका सातै प्रदेशमा ११८ वटा शाखा उपशाखा सञ्जाल विस्तार गरेको छ । इन्स्योरेन्सको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं.१ कमलादीमा रहेको छ ।

 

कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

 

३ अर्ब अधिकृत पूँजी रहेको इन्स्योरेन्सको जारी पूँजी पनि २ अर्ब रुपैयाँ रहेको छ । हाल १ अर्ब ४० करोड चुक्ता पूँजी रहेको कम्पनीले थप पूँजी वृद्धि गर्न ६० करोड रुपैयाँको आइपीओ जारी गर्न लागेको हो ।

आइपीओपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक सेयर होल्डरको स्वामित्व ७० प्रतिशत रहेको छ भने सर्वसाधरणको हिस्सा ३० प्रतिशत रहने छ ।

 

गत आव २०७७/७८ को तेस्रो त्रैमाससम्ममा  ७ करोड ६९ लाख ९८ हजार  रुपैयाँ खुद नाफा कमाएको कम्पनीको जगेडा कोषमा ११ करोड ८७ लाख ५९ हजार रुपैयाँ संचित रहेको छ ।

 

कम्पनीले गत आवको चैत मसान्तसम्ममा ५७ करोड ५८ लाख ४४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नयाँ जीवन बीमा १० कम्पनीसँगको तुलनामा इन्स्योरेन्सको हिस्सा करिब ७ प्रतिशत रहेको छ ।

 

चालू आर्थिक वर्षमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ६.७३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०९.६७ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । कम्पनीले चालू आव २०७८/७९ मा प्रतिसेयर आम्दानी ९.७८ रुपैयाँ र आव २०८९/८० मा १७.११ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

 

गत वर्षसम्म १७ करोड ४४ लाख रुपैयाँ संचित आय रहेको इन्स्योरेन्सले चालू आवमा ३४ करोड ४६ लाख र आव २०७९/८० सम्ममा सञ्चित आय ६४ करोड ३१ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।

 

कम्पनीले हरेक आर्थिक वर्षमा संचित आय बढाउँदै लगेको छ । आर्थिक वर्ष २०७४/७५ मा १ करोड ३५ लाख रुपैयाँ ऋणत्मक रहेको थियो भने आव २०७५/७६ मा १ करोड ९६ लाख रुपैयाँ सञ्चित आय रहेको थियो ।

 

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी (ट्रिपल बी) माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमै दायित्व वहन गर्नसक्ने क्षमता औसतमा मध्यम रहेको जनाउँछ ।

 

कम्पनीले आइपीओबाट उठेको पैसा कहाँ लगानी गर्छ ?

 

आइपीओ विक्रीबाट संकलन हुने ६० करोड रुपैयाँमध्ये कम्पनीले नेपाल सरकारको ऋणपत्ररविकास ऋणपत्रमा १५ करोड रुपैयाँ, वाणिज्य बैंकको मुद्दती निक्षेपमा २४ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ ।

 

यसैगरी, विकास बैंकको मुद्दती निक्षेपमा ९ करोड रुपैयाँ, वित्त कम्पनीको मुद्दती निक्षेपमा ६ करोड रुपैयाँ र पब्लिक कम्पनीको सेयरमा ६ करोड रुपैयाँ लगानी गर्ने कम्पनीले जनाएको छ ।

 

को/को छन् प्रमोटर सेयर होल्डर ?

 

कुल चुक्त पूँजीको ७० प्रतिशत संस्थापक सेयर स्वामित्व रहने इन्स्योरेन्समा वाणिज्य बैंक, उद्योगपति, व्यापारी, व्यवसायीहरुको मुख्य लगानी रहेको छ ।

 

मुख्यगरी कम्पनीमा १४ व्यक्ति तथा संस्थाहरु प्रमोटर सेयर होल्डरका रुपमा रहेका छन् । इन्स्योरेन्सको मुख्य संस्थापक सेयर होल्डरको रुपमा सानिमा बैंक रहेको छ । सानिमाको यस कम्पनीमा २८ करोड रुपैयाँँ बराबरको २८ लाख कित्ता सेयर हिस्सा रहेको छ । यो कुल चुक्ता पूँजीको १४ प्रतिशत हो ।

 

यसैगरी, इन्स्योरेन्सको मुख्य सेयर होल्डरको रुपमा एनआरएनका पूर्वाध्यक्ष तथा व्यवसायी जीवानाथ लामिछाने रहेका छन् । उनको यस कम्पनीमा २२ करोड ८५ लाख रुपैयाँ लगानी रहेको छ ।

 

यस्तै, कम्पनीमा व्यवसायी अरुणकुमार ओझाको १२ करोड १५ लाख, घनश्याम थापा १२ करोड ९७ लाख, विनयकुमार श्रेष्ठको १२ करोड ५ लाख रुपैयाँ बराबरको सेयर स्वामित्व रहेको छ ।

 

यसैगरी, कम्पनीमा टेकराज निरौला ८ लाख ९० हजार, खेमराज लामिछाने ६ लाख ९० हजार, साम्बा लामा ७ लाख, सोनामा ग्याछो ६ लाख, प्रभा गोयण्का ५ लाख ६० हजार, हरेन्द्रप्रसाद जयसवालको २ लाख कित्ता सेयर रहेको छ ।

आजदेखि यूएईमा नेपालीलाई प्रवेश खुला Read Previous

आजदेखि यूएईमा नेपालीलाई प्रवेश खुला

कोरोनाको खोप लगाउनेमा अमेरिकाभन्दा यूरोपियन देश अगाडि Read Next

कोरोनाको खोप लगाउनेमा अमेरिकाभन्दा यूरोपियन देश अगाडि