काठमाडौं । काठमाडौं उपत्यकामा बन्ने भनिएको मेट्रो रेल निर्माणमा रातो मछिन्द्रनाथ बाधक बन्ने देखिएको छ । ललितपुरको सातदोबाटोदेखि काठमाडौंको नारायणगोपाल चोकसम्म बनाइने भनिएको मेट्रो रेलले रातो मछिन्द्रनाथ रथ तान्न अवरोध गर्ने देखिएपछि रोकिने भएको हो ।
हाल उक्त रेलको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि कन्सलटेन्ट नियुक्त गरी काम भइरहेको छ । कन्सल्टटेन्टले सातदोबाटो-रत्नपार्क-नारायणगोपाल चोक मेट्रो रेल गुडाउनका लागि डीपीआर, डिटेल डिजाइनको काम अघि बढाइएको छ ।
रेल विभागका अनुसार सो मेट्रो रेल निर्माण नगर्न ललितपुर महानगरपालिकाले पत्र समेत पठाएको छ । ललितपुर महानगरपालिकाले रातो मछिन्द्रनाथको रथ गुडाउन मेट्रो रेलले अफ्ठेरो सृजना गर्ने भन्दै रोक्न माग गरेको हो ।
विभागका प्रवक्ता अमन चित्रकाले कन्सलटेन्टलाई डीपीआर बनाउन जिम्मा दिइसकेको भए पनि महानगरपालिकाबाट अप्रत्यासित पत्र आउँदा विकास निर्माणका कामले गति नपाउने अवस्था सृजना भएको बताए ।
‘अहिले आएर यो बाटोमा सांस्कृतिक धेरै क्रियाकलाप हुने भन्ने आयो, रातो मछिन्द्रनाथको काममा अवरोध हुन्छ, रथको कारणले बनाउन मिल्दैन भनेर ललितपुर महानगरपालिकाबाट पत्र आएको छ,’ चित्रकारले चाणक्य पोष्टसँग भने ‘ उहाँहरुले लिखित रूपमै हामीलाई जानकारी गराइसक्नु भएको अवस्था छ । नेपालमा रेल बनाउन सजिलो छैन ।’
यो मेट्रो रेल सडक माथिबाट लगिनेछ । तर, माथिबाट रेल लग्दा रथ नाघिने र रथ सञ्चालनमा अफ्ठेरो आउने महानगरपालिकाको भनाइ छ ।निर्माण नगर्न भनि पत्र आएपनि कन्सलटेन्टले भने अलिअलि काम गरिरहेको उनले बताए । कोभिडका कारणले भने डीपीआरको काम रोकिएको थियो । ‘डीपीआरको काम भइरहेको छ तर, रथको कुराले निर्माण गर्नै सकिदैन भन्ने कुरा आएको छ,’ चित्रकारले भने ।
उनले भगवानले विकास नगर नभन्ने भन्दै क्षमा पूजा गरेर निर्माण अघि बढाउन भने पनि महानगरपालिकाले भने यसलाई स्वीकार गरेको छैन । महानगरले मेट्रो रेललाई माथिबाट लग्न नपाइने भन्दै बरु भूमिगत हिसाबले रेल निर्माण गर्न सकिने तर्क राखेको छ ।
विभागका प्रवक्ता चित्रकार भन्छन् ‘बरु रथ यात्रा हुँदा मेट्रो नै बन्द गरौंला नि एक दिनका लागि भन्दा पनि उहाँहरुले मान्नु भएको छैनन् ।’ यसको उपायको रूपमा रेललाई भूमिगत गर्न सकिने भए पनि त्यसको कुनै अध्ययन नभएकाले सो गर्न सम्भव नहुने उनले बताए ।
‘माथिबाट रेल नलगे जमिन मुनिबाट सुरुङ बनाएर रेल लानु पर्यो तर, त्यसको लागि अध्ययन भएको छैन,’ उनले भने ‘सम्भाव्यता अध्ययन माथिबाट रेल लाने भनेर गरिएको छ, डीपीआर बनाउँदा भूमिगत त बनाउन मिल्दैन ।’
काठमाडौं उपत्यकाको जनघनत्व बढेर गइरहेको यो अवस्थामा स्थानीय तथा पालिकाहरुबाट सहजीकरण र समझदारी नभई रेल निर्माणको कामले गति लिने सम्भावना निकै जटिल रहेको उनले बताए ।
यस अघि राजाको पालामा आकासे पुल निर्माण गर्न खोज्दा समेत यस्तै समस्या आएको थियो । त्यस बेला आकासे पुल बनाउँदा राजा नाघिन्छन् भनेर ठूलो विरोध आएको थियो । धेरै अवरोधपछि आकासे पुलको सट्टा बरु जमिन मुनिबाट सडक पार गर्ने सञ्जाल बनाउने भन्दै भोटाहिटीको सब–वे बन्न गएको थियो ।
‘धेरै समयअघि आकासे पुल बनाउन खोज्दा राजा मुनिबाट हिँड्दा मानिसहरुले आकासे पुल प्रयोग गर्दा राजा नाघिन्छ भनेर ठूलो विरोध नै भएको थियो, त्यस बेला हामी सानै थियौँ, त्यसको सट्टामा अनि जमिनबट हिँड्ने सब–वे बनाइएको थियो,’ चित्रकारले भने ।