काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई कारबाही गर्न बोर्डकै कर्मचारी यूनियनले माग गरेको छ ।
बोर्ड कर्मचारी यूनियनले आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष तथा सञ्चालक माथि अविलम्ब छानबिन कार्य अगाडि बढाई दोषी देखिए हदैसम्मको कारबाही गर्न माग गरको हो ।
ढुंगानाले बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको सेयर छोरीको नाममा किनेको समाचार बाहिरिएपछि अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।
विभिन्न संचार माध्यमबाट प्रकाशित समाचारहरु र अर्थ मन्त्रालयबाट बोर्डको नाममा लेखिएको पत्रका सम्बन्धमा सम्बन्धित व्यक्ति वा पदाधिकारीको व्यक्तिगत विषयमा पूरै संस्थालाई मुछेर पत्र लेखिएकोमा पनि गम्भीर ध्यानाकर्षण भएको युनियनले जनाएको छ ।
‘बुक विल्डिङ मार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सोसँग निहीत सम्वेदनशील जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरिद गर्नु धितोपत्र बोर्डको लब्ध प्रतिष्ठत अध्यक्ष तथा संचालकका रुपमा गम्भीर विचलन हो,’ युनियनद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘नेपालको पूँजीबजार तथा वस्तु विनिमय बजारको नियामक निकायको रुपमा रहेको, नेपाल सरकारबाट जारी धितोपत्र ऐनबाट स्थापित, गहन जिम्मेवारी बोकेको एक विशिष्ट प्रकृतिको संस्था हो । करिब देशको कूल ग्राहस्थ उत्पादन जत्तिको बजार पूँजीकरण भएको देशको धितोपत्र बजारको नियामक निकाय स्वच्छ, पारदर्शी, गतिशिल र लगानीकर्ताको हित संरक्षणमा उद्दत हुनुपर्छ भन्ने कुरामा दुई मत हुनै सक्दैन,’ विज्ञप्तिमा उल्लेख छ ।
‘करिब ३८ लाख लगानीकर्ताको सम्पत्ति एवं झण्डै देशको कूल ग्राहस्थ उत्पादन बराबरको बजार पूँजीकरण भएको देशको धितोपत्र बजार संरक्षण गर्दै पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन, उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी ऐनको दफा ७(७), १२, ९१ र ९२ तथा अन्य विद्यमान कानूनका आधारमा सम्बन्धित तत् निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानविन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारवाही गर्न यस नेपाल धितोपत्र बोर्डको आधिकारिक कर्मचारी यूनियन जोडदार माग गर्दछौं ,’ विज्ञप्तिमा उल्लेख छ ।
ढुंगानाले आन्तरिक रुपमा अमेरिकामा बस्ने छोरी रेविका ढुंगानाका नाममा सर्वोत्तम सिमेन्टको ११ हजार ९९२ कित्ता सेयर किनेको विवरण सार्वजनिक भएको थियो ।
