काठमाडौं । डिप्रोक्स लघुुवित्त वित्तीय संस्थाको खुद नाफा साढे दुई गुणाले बढेको छ । लघुवित्तले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार ७१ करोड ३७ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो आवको सोही अवधिको तुलानामा १५९.५५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको चैथो त्रैमाससम्म लघुवित्तले २७ करोड ४९ लाख ९१हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी र प्रोभिजन गरेको रकम राइटब्याक हुँदा खुद मुनाफामा उल्लेख्य वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४२.७९ प्रतिशतले बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । यस्तै, समीक्षा अवधिमा लघुवित्तले ३८ करोड ८९ लाख रुपैयाँ राइटब्याक गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले ६ अर्ब ५४ करोड निक्षेप संकलन र ७ अर्ब ७८ करोड सापटी लिइ कुल १५ अर्ब २३ करोड कर्जा प्रवाह गरेको छ । हाल १ अर्ब १५ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब २९ करोड संचित रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी साढे दुई गुणाले बढेर २७.३५ रुपैयाँबाट ६१.७३ रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा भने २.४७ प्रतिशतबाट घटेर ०.९२ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १८२.८६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७.३१प्रतिशत रहेको छ ।