काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा रेल निर्माणका लागि छुट्याइएको बजेटमध्ये आधा मात्र खर्च भएको छ । गत वर्ष विभिन्न रेलमार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड रुपैयाँ छुट्याइएकोमा सोमध्ये ४ अर्ब ८४ करोड ९६ लाख रुपैयाँ बजेट खर्च भएको रेल विभागले जनाएको छ ।
विभागका प्रवक्ता अमन चित्रकारले गत आवमा रेल निर्माण अन्तर्गत ५६ प्रतिशत मात्र बजेट खर्च भएको बताए । ‘गत वर्ष साढे ८ अर्ब बढी रुपैयाँ छुट्याइएको थियो । कोरोना, मुआब्जा, विवाद, ठेक्का प्रक्रियामा ढिलाइ लगायत कारणले विनियोजित बजेटमध्य ४ अर्ब ८४ करोड मात्र खर्च भएको छ,’ उनले भने, ‘खर्च गर्न नसकेर झन्डै ४ अर्ब बजेट फिर्ता पठाइयो ।’
गत वर्ष कुल ७० किलोमिटर ट्रयाकबेड बिछ्याउने लक्ष्य राखिएकोमा ५२ किलोमिटर मात्र बिच्छाउने काम सम्पन्न भएको छ ।
उनका अनुसार गतवर्ष रेलमार्ग निर्माण अन्तर्गत ५७ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्व पश्चिम रेलमार्गको कुल ७० किलोमिटर ट्रयाकबेड (रेलको लिक ओछ्याउनु अघि माटो उठाएर बनाइने) बिछ्याउने लक्ष्य राखिएकोमा ५२ किलोमिटर मात्र ट्रयाकबेड बिच्छाउने काम सम्पन्न भएको हो ।
हाल बनाइएको ट्रयाकबेड निर्माण भनेको ट्रयाक राख्नलाई बनाइने सडक मात्र रहेको चित्रकार बताउँछन् । उनले सडकमा माटो हालेर ट्रयाक हाल्न ठिक्क पारिए पनि विभिन्न समयमा आउने पानी, बाढी भेलका कारण त्यो बगाउन सक्ने बताए ।
‘यो खासै उपलब्धी हैन, ट्रयाकबेड भनेको तयारी बाटोमा माटो हाल्ने काम मात्र हो, यो अर्को ट्रयाक हाल्ने ठेकेदारले भएन भन्यो भने फेरि बनाउनु पर्ने हुन्छ,’ चित्रकारले चाणक्य पोष्टसँग भने ‘रेलको काम एक खण्डको एउटैलाई दिँइदैन, माटो हाल्ने काम एउटाले गर्छ, ट्रयाक हाल्ने काम अर्कोले गर्छ अनि रेल ल्याउने काम अर्कोले गर्दा ढिलाइ भएको हो ।’
यस्तै, रेलमार्गमा १६ वटा पुल बनाउने लक्ष्य राखिएकोमा ३ वटा मात्र पुल निर्माण सम्पन्न भएको प्रवक्ता चित्रकारले जानकारी दिए । अन्य पुलको फाउन्डेसनको काम पूरा भएको छ ।
‘अहिले रेलमार्ग निर्माण अन्तर्गत बर्दिबासदेखि निजगढ खण्डको बीचको सेक्सनमा काम भइरहेको छ । त्यो भन्दा पूर्व केही काम शुरू भएको छैन त्यहाँभन्दा पश्चिममा पनि केही काम भएको छैन । बर्दिबास-निजगढ खण्ड बाहेक अन्यमा अध्ययन र डीपीआरको काम भएको छ ,’ उनले भने ।
अहिले ९ वटा प्याकेजमा अध्ययन भइरहेको उनले बताए । बर्दिबास-सिमरा-बुटवल खण्डमा पहिल्यै अध्यनको काम सकिए पनि राष्ट्रिय निकुञ्जको बीचबाट रेलमार्ग बनाउन नमिल्ने बताइएपछि हाल निजगढ-हेटौंडा-भरतपुर निस्किने गरी अध्ययनको काम भइरहेको छ ।
यस्तै, काँकडभिट्टाबाट इनरुवा र इनरुवाबाट बर्दिबास दुई खण्डमा डीपीआर भइसकेको छ । बुटवलबाट पश्चिम जाँदा बुटवल-लमही, लमही-कोहलपुर, कोहलपुर-सुखड र सुखड-गड्डाचोक गरी यी ४ खण्डमा डीपीआरको कामहरु सम्पन्न भइसकेका छन् ।
कुन आयोजनाको के-के काम भयो ?
जनकपुर-जयनगर रेल सञ्चालनको अन्तिम तयारीमा
१० महिनादेखि त्रिपाल मुनि थन्किएर बसेको जनकपुर-जयनगर रेल चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । पटकपटक संचालन मिति तोकिए पनि जनशक्ती, कानून अभाव, कोरोना लगायत कारणले उक्त रेल संचालनमा ल्याउन सकिएको छैन ।

पछिल्लो पटक २०७८ जेठ पहिलो साताबाट सञ्चालन गर्ने तयारी गरिएको सो रेल कोरोनाका कारण सञ्चालनमा ल्याउन नसकिएको हो । रेल विभागका अनुसार रेल सञ्चालनका लागि जनशक्ति नियुक्तिको काम पूरा भइसकेको छ । विभागका प्रवक्ता चित्रकारले रेल गुडाउने अन्तिम तयारी भइरहेको बताए ।
सरकारले गत असोज २ गते ८४ करोड खर्चेर जनकपुर-जयनगर रुटमा संचालन गर्न रेल ल्याएको थियो । धनुषाको इनरुवामा उक्त रेललाई १० महिनादेखि त्रिपाल ओढाएर राखिएको छ ।
जोगमनी-विराटनगर रेल : यसखण्डमा भारत-नेपाल क्रस बोडर रेल निर्माण भइरहेको छ । यस खण्डमा भारतले काम गरिरहेको छ । ८ किलोमिटर खण्डमा लिक बिछ्याउने काम सम्पन्न भइसकेको छ । बाँकी खण्डमा जग्गा प्राप्तीको काम भइरहेको छ । भारत सरकारकै प्राविधिक सबै उनीहरुले बनाउने हो । भारतीय लिङकन कम्पनीले ठेक्का पाएको छ ।
मेची-महाकाली विद्युतीय रेलमार्ग : राष्ट्रिय गौरवको योजनाअन्तर्गत मेची-महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । ९४५ किलोमिटर लामो मेची महाकाली रेलमार्ग लिंक सहित १ हजार २६ किलोमिटरको बन्ने छ । डीपीआर तयार भएर केही खण्डको काम शरु भए पनि यसले गति लिन सकेको छैन ।
केरुङ-काठमाडौं रेलमार्ग : केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनको लागि चीन सरकारसँग वार्ताभई प्रक्रिया अगाडि वढेको जनाएको छ । तर, पछिल्लो समय कोरोना भाइरसका कारण सो रेलमार्गको विषयमा अन्य थप प्रक्रियाहरु अघि बढ्न नसकेको विभागले जानकारी दिएको छ ।

केरुङदेखि काठमाडौंसम्म ७२ किलोमिटर रेलमार्ग बनाइने चीन र नेपाल बीच सहमति भइसकेको छ । को दूरी रहेको छ । चीनले सिगात्सेबाट केरुङसम्म ५५६ किलोमिटर रेलमार्ग बनाउने काम शुरु गरिसकेको छ भने नेपालतर्फ भने अझै अध्ययन समेत शुरु हुन सकेको छैन ।
जयनगर-जनकपुर-बर्दिबास रेलमार्ग : निर्माणाधीन ६९ किलोमिटर लामो जयनगर-जनकपुर-बर्दिबास रेलमार्गको जयनगर- जनकपुर खण्डको ३४ किलोमिटर निर्माण सम्पन्न भएको छ । कोरोनाका कारण सञ्चालनमा ल्याउन सकिएको छैन ।
वीरगंज-काठमाडौं रेलमार्ग : वीरगंज-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनको लागि भारत सरकारसँग वार्ताभई प्रक्रिया अगाडि बढेको थियो । सो रेल निर्माण भारत आफैले गर्न सक्ने अनुमान गरिए पनि अघि बढ्न सकेको छैन । यस खण्डमा डीपीआर निर्माणका लागि भारतले बजेट समेत विनियोजन गरेको थियो ।
सो रेलमार्ग करिब १३५ किमि लामो हुनेछ । रेलमार्गको करिब ४० देखि ५० किलोमिटर खण्डका लागि शुरूङ निर्माण गर्नुपर्ने प्ररम्भिक अध्ययनमा उल्लेख छ । वीरगंज-काठमाडौं रेलमार्ग चोभार सुख्खा बन्दरगाह हुँदै निजगढको डुमरवाना पुगेर उत्तरतिर लाग्नेछ । वीरगंजदेखि चोभारसम्म १२ वटा स्टेसन प्रस्ताव गरिएको छ ।