चन्द्रागिरीको सेयर मूल्य उच्च अंकले वृद्धि, किन झुम्मिए लगानीकर्ता ?
चाणक्य पोष्ट
प्रकाशित : 2:22 pm, बिहीबार, साउन १४, २०७८

Advertisement Section

काठमाडौं । चन्द्रागिरी हिल्सको सेयरमा आज पनि लगानीकर्ताको आकर्षण देखिएको छ । बुधबार पोजेटिभ सर्किट लागेर कारोबार भएको कम्पनीको सेयर मूल्य आज पनि उच्च अंकले बढेको हो ।

 

दिउँसो २ बजेसम्म चन्द्रागिरीको सेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँले बढेर १७३८ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर खरिदको लागि अधिक माग रहेको छ भने विक्री चाप न्यून रहेको छ ।पछिल्लो दुई दिनमै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५० रुपैयाँभन्दा धेरैले बढेको छ ।

 

पछिल्लो ४ महिनायता लगातार मूल्य घटेको कम्पनीको सेयरमा हिजोदेखि लगानीकर्ताको आकर्षण देखिएको हो । गत चैत २३ गते प्रतिकित्ता २८०० पुगेको चन्द्रागिरीको सेयर मूल्य त्यसयता निरन्तर घटेर हिजो बिहान १४८० रुपैयाँसम्म आएको थियो ।

 

कोरोनाका कारण डेढ वर्ष यता व्यापार गर्न नसकेको कम्पनी करोडौं घाटामा भए पनि एकाएक सेयर मूल्य उकालो लागेको छ । थोरै सेयर भएकाले स्वार्थ समूहले कर्नरिङ गरी मूल्य उचालेको अनुमान गरिएको छ ।

 

विगतमा पनि स्वार्थ समूहले चलखेल गरी २८०० सम्म पुर्याएको र त्यसपछि झन्डै आधाले मूल्य घट्दा सस्तोमा सेयर किनेकाहरुले अब फेरि भाउ बढाएर सेयर बेच्न चलखेल गरेको हुनसक्ने अनुमान गरिएको छ ।

 

कम्पनीको सेयरप्रति आकर्षति हुनु पर्ने ठोसकारण नभएपनि एकाएक सेयरको माग बढ्न थालेपछि लगानीकर्ता त्यसकै पछि दौडिँदा सेयर मूल्य ह्वात्तै बढेको हो ।

 

कोरोनाका कारण वैशाख यता चन्द्रागिरीको व्यापार ठप्प छ भने तत्कालै संचालनमा आउने सम्भावना पनि देखिएको छैन । चैत मसान्तसम्म १८ करोड रुपैयाँ घाटामा रहेको कम्पनीको घाटा साउनसम्म आइपुग्दा झनै बढ्ने निश्चित छ ।

Advertisement Section