इजरायलमा १००० नेपालीलाई रोजगारी खुल्यो, मासिक तलब झन्डै २ लाख, यसरी दिनुस् आवेदन

काठमाडौं । लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो ।

 

सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे (केयरगिभर) कामका लागि १ हजार नेपाली श्रमिकको आवेदन खुला गरेको छ ।

 

सूचनामा ३०० पुरुष र ७०० महिला कामदारले रोजगारीको अवसर पाउने र तिनका लागि मासिक तलब ५३०० एनआईएस (१ लाख ९३ हजार) तोकिएको र तलब सातामा ४२ घण्टाको हिसाबमा प्रदान गरिने जनाइएको छ ।

 

सरकारले गतवर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५०० कामदार पठाउने समझदारी गरेको थियो । इजरायल जाने कामदारले खानाको प्रबन्ध आफैँले मिलाउनुपर्ने तर बस्ने प्रबन्ध भने रोजगारदाताले नै उपलब्ध गराउने भएको छ । रोजगारीमा जाने करार अवधि एक वर्षको हुने भए पनि करार थपेर पाँच वर्षसम्म बस्न पाइने जनाइएको छ ।

 

आवेदनको मापदण्ड

 

रोजगारीका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । आवेदकको उचाइ कम्तीमा एक दशमल पाँच मिटर र ४५ किलो तौल भएको भएको हुनुपर्ने, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी तालिम लिएको हुनुपर्ने वा १० जोड दुई सरह उत्तिर्ण गरी मान्यताप्राप्त तालीम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी ३ महिना तालीम लिएको हुनुपर्ने जनाइएको छ ।

 

आवेदन दिनेहरु विगतमा इजरालयलमा गई काम नगरेको र तिनका बुबाआमा, पतिपत्नी वा छोराछोरी त्यहाँ बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ ।

 

यसरी दिनुहोस् आवेदन

 

इच्छुक उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन पाउनेछ । वैदेशिक रोजगार विभागको वेबसाइटमा गई रजिस्टर भन्ने अप्सनमा क्लिक गर्नुहो । त्यसपछि तपाईंको पासपोर्ट नम्बर, इमेल, फोन नम्बर इन्ट्री गरी रजिष्टर गर्नुहोस् । त्यसपछि लगइन आइडी प्राप्त हुनेछ । आफ्नो आइडी लगइन गरी आवश्यक विवरण र कागजात पेश गर्नुपर्नेछ ।

 

आवेदकबाट प्राप्त कागजातलाई छानबिन गरी विभागले योग्य देखिएका उम्मेदवारको दरखास्त स्वीकृति गर्नेछ । महानिर्देशकको संयोजकत्वमा छनोट समिति बनाइएको छ ।

 

उनीहरुलाई अंग्रेजी भाषा परीक्षणमा सहभागी गराइनेछ । लिखितमा उत्तीर्ण भएकालाई मात्रै मौखिक परीक्षामा सहभागी गराइनेछ ।

 

लागत खर्च कामदारकै

 

सरकारी संयन्त्रमार्फत भर्ना प्रक्रिया गरिने भए पनि लागत खर्च भने कामदारले नै बेहोर्नुपर्ने छ । हवाईभाडा, बीमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम, श्रम स्वीकृतिमा लाग्ने खर्च रोजगारदाताले व्यहोर्नु पर्नेछ भने भिसा शुल्कमात्रै सम्बन्धित रोजगारदाताले व्यहोर्नेछ । लागत शुल्क १ लाख ६५ हजार रुपैयाँ लाग्ने जनाइएको छ ।

आइएमई समूहको डेढ अर्ब लगानीमा कागज उद्योग खुल्दै, दैनिक ७५ टन उत्पादन हुने Read Previous

आइएमई समूहको डेढ अर्ब लगानीमा कागज उद्योग खुल्दै, दैनिक ७५ टन उत्पादन हुने

श्रमिकको ज्याला ५ प्रतिशतले वृद्धि, अब कुन काम गर्नेले कति पाउँछन् ? Read Next

श्रमिकको ज्याला ५ प्रतिशतले वृद्धि, अब कुन काम गर्नेले कति पाउँछन् ?