काठमाडौं । कोरोनाका कारण मोबाइल व्यापार ह्वात्तै फस्टाएको छ । कोरोनाका कारण शिक्षण सिकाइ, कम्पनीहरुको मिटिङ लगायत भर्चुअल माध्यमबाटै गर्ने चलन बढेसँगै मोबाइलको प्रयोग ह्वात्तै बढेको हो ।
भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा ३६ अर्ब ९० करोड रुपैयाँ बराबरको मोबाइल आयात गरिएके छ । यो अघिल्लो आव २०७६/७७ को तुलनामा दोब्बभन्दा धेरै हो । आव २०७६/७७ मा जम्मा १८ अर्ब १७ करोडको मोबाइल आयात भएको थियो ।
विभागका अनुसार गत आवमा कुल ७० लाख ३० हजार मोबाइल सेट आयात भएको छ । यो हालसम्मको सबैभन्दा धेरै मोबाइल आयातको परिमाण हो । आव २०७६/७७ को भन्दा यो परिमाण २६ लाख ६५ हजार बढी हो । सो वर्ष ४३ लाख ६५ हजार वटा मोबाइल सेट आयात भएको थियो ।
नेपालले चीन, भारत, भियतनाम, अमेरिका लगायत मुलुकबाट धेरै मोबाइल आयात गरेको छ ।