काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नयाँ योजना ल्याएको छ । मन्त्रालयले ड्राइ फूड्स तथा फलफूल खेतीका लागि ८ अर्ब रूपैयाँ बराबरको लगानी गर्ने तयारी गरेको हो ।
कृषि मन्त्रालयका सचिव हरिबहादुर केसीले उत्पादनदेखि प्रशोधन तथा बजारीकरणसम्मको काम एकै ठाउँबाट गर्ने गरी आयोजना मोडल बनाइएको उनले बताए ।
मन्त्रालयले देशका ३३ जिल्लाको १० हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती गर्ने योजना बनाएको छ । उक्त कार्यक्रमले १०० नगरपालिकालाई समेट्ने मन्त्रालयले जनाएको छ ।
उनले उक्त आयोजनाले बजारीकरणलाई जोड्नुका साथै सरकारी कृषि उद्योगको रूपमा स्थापना गर्न लागिएको बताए । ‘यसलाई उद्योगको रूपमा बनाउने योजना बनाएका हौँ, उत्पादन, प्रशोेधन, बजारीकरण सबै हामी आफैंले गर्ने छौं, गाउँमै रहेकालाई रोजगार पनि प्रधान गर्ने छौं,’ केसीले चाणक्य पोष्टसँग भने ।
१० हजार हेक्टरमा बनाउन लागेको सो आयोजनाले ३३ जिल्लालाई जोड्ने उनले बताए । उक्त अयोजनाले १०० नगरपालिकालाई जोड्ने छ । आयोजना विशेष गरी मध्य पहाडी र उच्च पहाडी क्षेत्रमा रहने छ ।मन्त्रालयले विशेष गरी स्याउ, केरा, आँप, सुन्तला, ओखर लगायत फलफूललाई प्राथमिकतामा राखेका छ ।
आगामी पुष महिनामा सम्झौता हुने अनुमान गरिएको यस आयोजनाले नेपालमा आयात हुने फलफूल तथा ड्राइ फूड्सलाई विस्थापन गर्दै लैजाने उनले बताए । ‘हामी आयात पूरै बन्द गर्न सक्दैनौँ, यति एउटा आयोजनाले निर्यात गर्न पनि सम्भव छैन, तर आयातलाई घटाउने र नेपाली उत्पादनको बजारलाई सस्तो बनाउन सक्छौं ,’ सचिव केसीले भने ।
वर्षेनी १७ अर्बको फलफूल आयत
नेपालमा वार्षिक औसतमा करिब १७ अर्बको फलफूल आयात हुन गरेको देखिन्छ । पछिल्ला ३ वर्षको अवधिमा मात्रै ५१ अर्ब ८५ करोड रुपैयाँ बराबरको फलफूल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ मा कुल १६ अर्ब ५२ करोड रूपैयाँ बराबरको फलफूल आयात भएको छ । सो मूल्यमा २७ करोड ९८ केजी फलफूलहरु आयात भएको हो ।
यस्तै, आर्थिक वर्ष २०७६/७७ मा कुल २० अर्ब ७४ करोड ६२ लाख रूपैयाँ बराबरको २८ करोड ४ लाख केजी फलफूल आयात भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा कुल १४ अर्ब ५९ करोड १८ लाख रूपैयाँ बराबरको फलफूल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
सरकारले फलफूलमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रम ल्याए पनि प्रभावकारी कार्यान्वयन नहुँदा आयात घट्न सकेको छैन । हाल हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा, मुस्ताङ लगातका जिल्लामा स्याउ खेती भइरहेको छ । नेपालमा स्याउ उत्पादन हुने गरे पनि त्यसको बजार विस्तार गर्न नसक्दा अझै स्याउमा आत्मनिर्भर हुन सकेको छैन ।
ड्राइ फूड्स आयात घट्दै
ड्राइ फूड्सको आयात पछिल्लो समय घट्दै गइरहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ८१ करोड ७६ लाख रूपैयाँ बराबरको ड्राइ फूड्स आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो मूल्यमा १ करोड ९६ हजार ७९ लाख केजी ड्राइ फूड्स आयात भएको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा ५ अर्ब ८४ करोड ७ लाख रूपैयाँ बराबरको ड्राइ फूड्स आयात भएको थियो । सो मूल्यमा ३ करोड २३ लाख केजी ड्राइ फूड्स आयात भएका हुन् ।