नर्भिकले काठमाडौं बाहिर दुई ठाउँमा अस्पताल खोल्ने, ६ अर्ब लगानी थप्दै

काठमाडौं । हालै पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक इन्टरनेशनल हस्पिटलले काठमाडौं बाहिरका दुई स्थानमा अस्पताल खोल्ने भएको छ ।हस्पिटलले आफ्नो सेवालाई विस्तार गर्न पञ्चवर्षीय रणनीति सार्वजनिक गर्दै भैरहवा र दुहबीमा नयाँ अस्पताल खोल्ने घोषणा गरेको हो ।

 

ठमेलस्थित होटल अलफ्टमा आयोजित कार्यक्रमबीच नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले ५ वर्षे रणनीति सार्वजनिक गरिन् ।उनले अबको ५ वर्षभित्र नर्भिक अस्पतालले आफ्नो सेवालाई व्यापक रुपमा विस्तार गर्ने योजनाको विषयमा जानकारी दिइन्।

 

आगामी पाँच वर्षपभित्र नर्भिकले भैरहवामा १०० शय्या तथा सुनसरीको दुहबीमा पनि १०० शय्याको दुईवटा स्याटेलाइट अस्पताल निर्माण गरी संचालनमा ल्याउनेछ । यी दुवै अस्पताल निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुनेछ ।

 

सन् २०२२ देखि २०२६ भित्रमा थापाथलीमा रहेको नर्भिक अस्पतालको सेवा अझ विस्तार गर्ने भएको छ। थापाथलीमा २ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अत्याधुनिक अर्को भवन बनाएर हालको सेवालाई विस्तार गरी २०० शय्याको अस्पताल संचालन गरिने उनले बताइन् ।

 

पाँच वर्षे योजनामा नर्भिकले आफ्नो सेवा विस्तारका लागि ६ अर्ब बढी लगानी थप्ने र २ हजारभन्दा बढीका लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने योजना बनाएको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिइन् ।

 

नर्भिक अस्पतालका निवर्तमान चेयरम्यान तथा संरक्षक बसन्त चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरुले अस्पतालको स्तरीय सेवालाई व्यापक रुपमा विस्तार गर्ने योजना बनाएको उल्लेख गरे । उनले भने–‘संभवत हामी देशका विभिन्न क्षेत्रमा स्याटेलाइट अस्पताल निर्माण गर्ने पहिलो कम्पनी बन्नेछौं ।’

चीनबाट गाडी आयात बढ्दो, रसुवा नाकाबाट भित्रिए ५६८ सवारीसाधन Read Previous

चीनबाट गाडी आयात बढ्दो, रसुवा नाकाबाट भित्रिए ५६८ सवारीसाधन

यती एयरलाइन्सको सहयोगमा विमानस्थलको मूलगेटमा ट्राफिक बत्ती जडान Read Next

यती एयरलाइन्सको सहयोगमा विमानस्थलको मूलगेटमा ट्राफिक बत्ती जडान