काठमाडौं । सेयर बजारमा छलाङ आएको छ । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन बजारमा झन्डै १०० अंकको बढोत्तरी आएको हो ।
मुख्यगरी बैंक, विकास बैंक, बीमा कम्पनी र माइक्रोफाइनान्सको सेयरमा चमक आउँदा नेप्सेले ठूलो छलाङ मारेको हो । नयाँ आर्थिक वर्ष शुरु भएसँगै सूचीकृत कम्पनीहरुले गत वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने र लगत्तै लाभांश घोषणा गर्ने भएकाले लगानीकर्ता आशावादी हुँदा बजारले एकै दिन ठूलो फड्को मारेको हो ।
यस्तै, शुक्रबार नयाँ अर्थमन्त्री जर्नादन शर्माले सेयर बजारमा रहेका समस्या समाधान गर्दै सर्वसाधरण अनुकुल बनाइने बताएका थिए । अर्थमन्त्रलीले सेयर बजार सम्बन्धी सकारात्मक धारण राखेसँगै लगानीकर्ता उत्साहित हुँदा बजारले गति लिएको हो ।
आज सूचकसँगै कारोबार रकममा पनि ठूलो बढोत्तरी आएको छ । गतसाता औसतमा दैनिकसाढे ५ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा आज दोब्बरले बढेर साढे ११ अर्ब बढीको कारोबार भएको छ ।
आज कारोबारमा आएका १८३ (डिबेन्चर र म्युचुअल फण्ड बाहेक) कम्पनीमध्ये १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा ८ वटा कम्पनीको मात्र सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
बढ्दो बजारमा आज मल्टिप्रपोज फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै १.७७ प्रतिशतले घटेको छ । यसैगरी, रिडी हाइड्रोपार १.३९ प्रतिशतले, अरुण भ्इाली १.०४, नारायणी विकास बैंक, अपर तामाकोशी, सेन्टर फाइनानस, राधी विद्युत् कम्पनी र बेस्ट फाइनान्सको सेयर मूल्य १ प्रतिशतभन्दा कमले घटेको छ ।