काठमाडौं । देशको शोधान्तर स्थिति (ब्यालेन्स अफ पेमेन्ट) २ वर्षपछि पहिलोपटक घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको जेठसम्मको तथ्यांक अनुसार १५ अर्ब १५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोड रुपैयाँ बचतमा रहेको थियो ।
पछिल्लो दुई वर्षमा शोधान्तर स्थिति घाटामा गएको पहिलो पटक हो । शोधान्तरले एक देश र विश्वभरका अन्य देशसँग हुने वित्तीय तथा सेवाको लेनदेनको हिसाब अर्थात् देशभित्र भित्रिने र बाहिरिने पैसाको हिसाब जनाउँदछ ।
देशबाट बाहिरिनेभन्दा भित्रिने पैसा धेरै भएमा शोधान्तर बचत हुन्छ भने भित्रिनेभन्दा धेरै पैसा बाहिरिए शोधान्तर घाटामा हुन्छ। पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पाटपूर्जा, खाद्यान्न लगायत वस्तुको आयात बढ्दा ठूलो मात्रमा रकम बाहिँरिदा शोधान्तरस्थिति घाटामा पुगेको हो ।
राष्ट्र बैंकका अनुसार जेठसम्ममा देशको चालू खाता चालु खाता २ खर्ब ९३ अर्ब ९७ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ६२ अर्ब ५९ करोडले घाटामा रहेको थियो । चालू खाता देशभित्र आउने कुल विदेशी मुद्र र वाहिरिने मुद्राबीचको अन्तर हो ।
यस्तै, समीक्षा अवधिमा व्यापार घाटा १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ११ खर्ब २५ अर्ब ३० करोड रुपैयाँ थियो ।
चालू आवको ११ महिनामा कुल वस्तु आयात २५.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस्तै, निर्यात ३७.८ प्रतिशतले १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२.२ प्रतिशत, २४.० प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड शिट इन्क्वाइल, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।