काठमाडौं । चालू आर्थिक वर्षमा रोजगारीका लागि नेपाल आउने विदेशी कामदारको संख्या दोब्बरले बढेको छ ।
चालू आवमा २ हजार ३५३ विदेशी नागरिक नेपालमा श्रम इजाजत लिइ काम गर्न आएको श्रम विभागले जनाएको छ । यो गत वर्षको तुलनामा ११३ प्रतिशतले धेरै हो । गत आर्थिक वर्ष २०७६/७७ मा कुल १ हजार १०५ जना विदेशीले श्रम स्वीकृति लिएका थिए ।
विभागको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका शाखा अधिकृत विकाशकुमार रजकले धेरै जसो विदेशी कम्पनीले नेपालमा पाउने टेन्डरका क्रममा श्रमिक आफ्नै देशबाट ल्याउने गरी सम्झौता गर्ने भएकाले विदेशी कामदारको संख्या दोब्बरले बढेको बताए ।
चालू आवमा रोजगारीका लागि नेपाल आएका विदेशीमध्ये सबैभन्दा धेरै अर्थात् ७३ प्रतिशत चिनियाँ कामदर रहेका छन् । चालू आवमा कुल २ हजार ३५३ श्रमिक नेपालमा रोजगारका लागि आएकामा १ हजार ७१५ चिनियाँ रहेका छन् ।
विभागका अनुसार विदेशी श्रमिकहरु विशेष गरी निर्माण, हाइड्रोपावर, सिमेन्ट उद्योग, स्कुल, डाक्टर, एनजीओे, आइएनजीओ लगायतमा काम गर्न अधिकांश दक्ष जनशक्ति आउने गरेका छन् । मेलम्ची खानेपानी, तामाकोशी, मध्यभोटेकोसी, चमेलिया, फास्टट्याक, गौतमबुद्ध, पोखरा अन्तर्राष्टिय विमानस्थल लगायत राष्यिय गौरवका आयोजनामा काम गर्न विदेशी कामदारले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
चालू अर्थिक वर्षमा नेपालमा रोजगारीका लागि विश्वका ६८ देशबाट जनशत्तिः आएको विभागले जनाएको छ । जसमा चीन, भारत, बंगलादेश, जापान, बेलायत, अमेरिका, रोमनिया, श्रीलंका, क्यानडा, पाकिस्तान, फिलिपिन्स लगायत देशबाट जनशक्ति आएका छन् ।
कुन देशबाट कति जनशक्ति आए ?
चालू आवमा रोजगारीका लागि नेपाल आएका विदेशीमध्ये सबैभन्दा धेरै अर्थात् ७३ प्रतिशत चिनियाँ कामदर रहेका छन् । चालू आवमा कुल २ हजार ३५३ श्रमिक नेपालमा रोजगारका लागि आएकामा १ हजार ७१५ चिनियाँ रहेका छन् ।
यस्तै, बेलायतबाट १०१, अमेरिकाबाट ५९, श्रीलंकाबाट ३०, भारतबाट ७३, जापानबाट ६१, कोरियाबाट ६३ फिलिपिनबाट २१, अष्ट्रेलियाबाट २५ श्रमिक नेपाल रोजगारका लागि आएका छन् ।
तत्कालीन श्रम ऐन २०४८ को पहिलो संशोधनले नेपालमा विदेशीलाई काममा लगाउन सक्ने व्यवस्था गरेको थियो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट श्रम इजाजत नलिई कुनै विदेशीलाई काममा लगाउन पाइँदैन ।
श्रम ऐन २०७४ मा उल्लेख भए बमोजिम रोजगारदाताले आफूलाई चाहिएको दक्ष श्रमिक नेपाली नागरिकबाट आपूर्ति हुन नसकेमा विदेशी श्रमिकलाई काममा लगाउन सक्नेछ ।
वैदेशिक रोजगारमा जाने नेपाली ६० प्रतिशतले घटे
नेपाल आउने विदेशी कामदारको संख्या दोब्बरले बढे पनि विदेशीने नेपाली कामदारको संख्या भने ६० प्रतिशतले घटेको छ । कोरोना भाइरस महामारीले गर्दा वैदेशिक रोजगारीमा जाने युवाको संख्या गत वर्षको तुलनामा चालू आवमा ६०.३ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्ष २०७६/७७ को १० महिनाको अवधिमा नेपालबाट नयाँ श्रम स्वीकृति लिएर १ लाख ९३ हजार ८८० नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि विदेशिएका थिए । चालू आवको सोही अवधिमा भने ७७ हजार १२ जना मात्रै विदेशिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
गत वर्षको १० महिनाको अवधिमा पुनः श्रम स्वीकृति लिएर जाने युवाको संख्या १ लाख ७५ हजार ५५१ जना थियो भने चालू आवमा सो संख्या घटेर ८९ हजार ५५४ जना विदेशिएका छन् ।
सामान्य अवस्थामा नेपालबाट रोजगारीका लागि वार्षिक करिब ४ लाखदेखि ५ लाखको संख्यामा विदेशिने गर्दथे ।