यूनाइटेड फाइनान्स प्राप्ति गरी नबिल बैंकद्धारा एकीकृत कारोबार शुरु

काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ति) गर्ने प्रक्रिया पूरा भएको छ । प्राप्ति प्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार शुरु भएको छ ।

 

आज आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र वसन्तकुमार चौधरीले एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।

 

नबिल बैंकका अध्यक्ष पौडेलले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए । ‘यो प्राप्तिले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’ उनले भने ।

 

युनाइटेडलाई प्राप्तिपछि नबिलको चुक्ता पूँजी १३ अर्ब ८४ करोड पुग्नेछ भने कुल पूँजीकोष ३२ अर्ब ६८ करोड रुपैयाँ हुनेछ । साथै, नबिलको शाखा सञ्जाल १३५ हुनेछ भने एटीएम वटा १८३ हुनेछ ।

 

प्राप्तिपछि बैंकको निक्षेप २१६ अर्ब रुपैयाँ र कर्जा लगानी २०१ अर्ब पुगेको छ । यो प्राप्तिसँगै बजारमा आफ्नो सेवा र थप शाखा सञ्जाल मार्फत नयाँ रणनीति अनुसार बजारमा उपस्थित हुने बैंकले जनाएको छ ।

हरेक महिना १० हजार नयाँ मोटरसाइकल दर्ता Read Previous

हरेक महिना १० हजार नयाँ मोटरसाइकल दर्ता

फाइनान्स र विकास बैंकको सेयर उछाल, किन झुम्मिए लगानीकर्ता ? Read Next

फाइनान्स र विकास बैंकको सेयर उछाल, किन झुम्मिए लगानीकर्ता ?