काठमाडौं । सिर्जना फाइनान्सलाई आफूमा गाभेर सिटिजन्स बैंकले एकीकृत कारोबार शुरु गरेको छ ।
शनिबार फाइनान्सलाई प्राप्ति गरेको सिटिजन्सले आज (आइतबार) देखि औपचारिक एकीकृत कारोबार शुरु गरेको हो ।
असार २५ गतेसम्मको तथ्यांक (सिर्जना फाइनान्स प्राप्ति पछि) को आधारमा सिटिजन्स बैंकको निक्षेप करिब १ खर्ब ४१ अर्ब रुपैयाँ हुनेछ भने ऋण लगानी करिब १ खर्ब २४ अर्ब रुपैयाँ हुनेछ ।
प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ हुनेछ । यस प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या करिब १२ लाख पुगेकोछ । हाल बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्ति पश्चात् उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उक्त प्रदेशमा २७ वटा शाखाहरु संचालनमा आएका छन् ।
सहमति अनुसार, सिर्जना फाइनान्सका सेयरधनीले १०० कित्ता सेयर बराबर सिटिजन्स बैंकको ९५ कित्ता सेयर पाउनेछन् । सिटिजन्सको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ती पछिको चुक्ता पूँजी १२ अर्ब ५७ करोड रुपैयाँ हुनेछ ।
सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीले यस प्राप्ति पश्चात बैंकको वित्तीय सूचकाङ्कहरु मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्त गरे। मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास अभिव्यक्त गरे । प्राप्तिबाट सिर्जना फाइनान्स लिमिटेडका ग्राहकहरुले अझ बढी स्तरिय र परिस्कृत वित्तीय सेवाहरु प्राप्ती पछि बनेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८९ वटा शाखाहरुबाट प्राप्त गर्ने बताए ।
बैंकले यसअघि पिपल्स फाइनान्स, नेपाल हाउजिङ एण्ड मर्चेण्ट फाइनान्स, प्रिमियर फाइनान्स र सहयोगी विकास बैंक एवं तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ती गरिसकेको छ ।