यस वर्ष पनि पूरा भएनन् काठमाडौं उपत्यका विस्तारका ९ सडक, यस्तो छ पछिल्लो अवस्था

काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गतका ९ सडक आयोजना चालू आवमा पनि सम्पन्न नहुने भएका छन् । आयोजना अन्तर्गतका सडक निर्माणका लागि पटक पटक म्याद थपिए पनि ठेकेदारको चरम लापारबाही, कोरोना, कामदार अभाव, स्थानीयको अवरोध लगायत कारणले ती आयोजना सम्पन्न हुन नसकेका हुन् ।

 

आयोजना अन्तर्गतका विस्तार कामहरु चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि सो अनुसार काम हुन सकेको छैन । हालसम्म आयोजना अन्तर्गतका सडकहरुको समग्रमा करिब ८० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

 

उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी अशोक यादवले कोभिडका कारण निषेधाज्ञ र निषेधाज्ञ खुले लगतै जेठदेखि शुरु भएको मनसुनका कारण कालोपत्र लगायतका सडकका कामहरु सम्पन्न हुन नसकेका हुन् ।

 

उनले हाल विस्तार अन्तर्गत धेरै जस्तो सडकमा बेस, सब–बेस लगाइसकेकाले कालोपत्रका काम बाँकी रहेको बताए । ‘धेरै कामहरु सम्पन्न भइसकेका छन्, अब फिनिसिङ, कालोपत्र र रेलिङ लगायतका काम मात्र बाँकी रहेका छन्,’ यादवले चाणक्य पोष्टसँग भने ‘यही आवमा सबै काम सम्पन्न गर्ने भनेका थियौं । कोभिड, अनि फेरि छिटो मनसुन शुरु भएकाले सोचे जस्तो लक्ष्य अनुरुप काम हुन सकेन ।’

 

केही निर्माणका कामहरु ठेक्का सकिएर हुन सकेका छैनन् । हाल पेप्सीकोला, भैँसेपाटी र साँखुका ३ ठेकेदारहरुले काम नगरेको भन्दै ७ दिनभित्र काम गर्ने कि नगर्ने भनेर सूची निकालेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार भैँसेपाटीको आशिस विरुवा सहित ३ ठेक्कालाई ७ दिन भित्र काम शुरु गर्न निर्देशन दिइएको हो । काम नगर्नुका कारण समेत पेस गर्न माग गरिएको छ ।

 

कुन सडकको अवस्था कस्तो छ ?

 

चाबहिल–जोरपाटी–साँखु सडक

 

यस सडकखण्ड अन्तर्गत अझै ३ किलोमिटर सडक निर्माण बाँकी रहेको छ । गाछी, थली र कुथौली गरी तीन स्थानमा अझै सडक विस्तारको काम सम्पन्न हुन नसकेको हो । बजार बस्ती भएका कारणले सो स्थानहरुमा अझै काम सम्पन्न हुन नसकेको सूचना अधिकारी यादवले बताए ।

उनले चाबहिल–साँखु खण्डमा हालसम्म हाल ७० देखि ७५ प्रतिशत मात्र काम बाँकी रहेको बताए । चालू आर्थिक वर्षमा चाबहिल–साँखु अन्तर्गत १ हजार ८०० मिटर मात्र सडक विस्तारको काम भएको छ ।

 

४ वटा ठेकेदार मध्ये ३ ठेकेदारले गरिरहेको काम अझै सम्पन्न हुन नसकेको हो । कूल ११.६ किलोमिटर लम्बाइ रहेको चाबहिल–साँखु सडक विस्तारमा ३ किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको यादवले बताए ।

 

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक

 

यस सडक आयोजना अन्तर्गत हालसम्मा ९५ प्रतिशत हाराहारीमा काम पूरा भइसकेको छ । सो खण्डमा ३ वटा ठेक्का रहेको छ । सो ठेक्काको म्याद सकिएकाले म्याद थप नहुँदा कामले गति नलिएको यादवको भनाइ छ । त्रिपुरेश्वर–कलंकी खण्डमा फुटपाथ मर्मत सम्भारको काम अझै बाँकी रहेको छ ।

 

११ किलोमिटर लम्बाइ रहेको सो सडकमा ६८८ घर भत्काउनु पर्नेमा ३५० मात्र घर भत्काइएको छ भने बाँकी घर नभत्काई यथास्थितिमा निर्माण गरिएको हो ।

 

त्रिपुरेश्वर–नागढुंगा सडक आयोजना २०७२ असार ३१ गतेबाट शुरु हुने गरी सम्झौता भएको थियो । २०७६ चैत्र महिनाभित्र सम्पन्न गर्ने भनिए पनि सो समयमा सम्पन्न हुन नसकेपछि २०७७ पुषसम्मको म्याद थप भएको थियो । सो म्याद सकिएपछि पुन थप हुन सकेको छैन । हाल म्याद थपको प्रकृया भइरहेको छ ।

 

जोरपाटी–सुन्दरीजल सडक

 

यस सडक आयोजना अन्तर्गत हालसम्म ७० प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । ७ किलोमिटर लम्बाइ यो सडक निर्माण चालू आवभित्र सम्पन्न गर्ने योजना रहेको थियो ।

घर टहरा हटाएर विस्तार गर्न खोज्दा स्थानीयले विरोध सृजना गरेपछि सो खण्डमा यथास्थीतीमा सडक कालोपत्र गरिने भएको थियो । २०७३ असारमा शुरु भएको यस आयोजना २०७७ कार्तिकसम्म सम्पन्न गर्ने भनिए पनि पूरा हुन सकेको थिएन । पछि ठेक्काको म्याद २०७८ वैशाख सम्मका लागि थप गरिएको थियो कोभिडको कारण काम सम्पन्न हुन नसकेपछि पुन म्याद थपको पहल गरिएको छ ।

 

नख्खु खोला–भैँसेपाटी–बुंमती सडक

 

यस सडक आयोजना अन्तर्गत ठेकेदारले काम नगरेकोले ७ दिनभित्र काम शुरु गर्न प्राधिकरणले सूचना निकालेको छ । ७५ प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको यस आयोजना चालू आर्थिक वर्षमा सम्पन्न गर्ने भनिएको थियो ।

 

कोभिड लगायत विभिन्न कारण देखाउँदै काम आलटाल गरिएको पाइएको छ । २०७३/७४ मा शुरु भएको यस आयोजना चालू आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

 

इमाडोल–सिद्धिपुर–गोदावरी–लामाटार सडक

 

यस आयोजना अन्तर्गत अब १ महिनामा काम सकिने सूचना अधिकारी यादवले बताए । ९५ प्रतिशत काम सम्पन्न भएको यस आयोजनामा पेन्टिङ र रेलिङको काम बाँकी रहेको उनले बताए । असार साउनमा सो काम पानीले गर्दा हुन नसकेको उनले बताए ।

 

८ किलोमिटर लम्बाइ रहेको सो सडक चालू आर्थिक वर्ष भित्र सम्पन्न हुने आयोजनाले जनाएको थियो । कोभिडका कारणले लक्षित समयमा काम सम्पन्न हुन नसकेको प्राधिकरणले जनाएको छ ।

 

पेप्सीकोला–सल्लाघारी सडक

 

यस सडक विस्तार आयोजना अन्तर्गत हालसम्म ६५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । यस क्षेत्रमा कालोपत्रको काम मात्र बाँकी रहेको सूचना अधिकारी यादवले बताए ।

४.५ किलोमिटर लम्बाइ रहेको यस आयोजना कान्छाराम/पीआर/उमा एण्ड कम्पनी जेभीले निर्माण ठेक्का लिएको छ । सो आयोजना अन्तर्गत ठेकेदारले काम नगरेकाले हाल ७ दिनभित्र काम गर्ने नगर्ने जानकारी दिन सूचना निकालिएको छ ।

 

ढोलाहिटी–चापागाउँ–लेले सडक

 

यस सडक आयोजना अन्तर्गत हालसम्म ७० प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । सो खण्डको लेले क्षेत्रमा बेस हालिएको छ । सब–बेस र कालोपत्रको काम बाँकी रहेको छ ।

 

शुरुमा १७.२० मिटर चौडाइमा सडक निर्माण भएको हुँदा हालका २० मीटर को सट्टा १७.२० मटिर नै गर्न स्थिानीय वासिन्दाले माग गरेका छन् । स्थिानीयको माग अनुसार मापदण्ड घटाइ निर्माण गर्न थालिएको थियो ।

 

२०७३/७४ मा शुरु भएको यस आयोजनामा यथास्थितीमा भए पनि यही आवभित्र पूरा गरिने भनिएको थियो । कोभिडका कारण कामले गति लिन नसकेको छैन ।

 

कर्मनाशा खोला–हरिसिद्धि–गोदावरी सडक

 

यस सडक आयोजना अन्तर्गत हालसम्म ५० देखि ७५ प्रतिशत भौतिक प्रगति भएको छ । २ ठेक्कामा अघि बढि रहेको यस आयोजनामा एक चरणको कालोपत्र भएको छ । अर्को चरणको कालोपत्र वर्खाका कारण रोकिएको छ । अनय क्षेत्रमा बेस हालल्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

 

२०७३/७४ मा शुरु भएको यस आयोजनामा ४ सय घर भत्काउनुपर्ने भएकोमा एउटै पनि घर भत्काउन सकिएको छैन । साढे ७ किलोमिटर लम्बाइ रहेको यो सडक खण्ड चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

 

२८ वर्षको खडेरी तोड्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि Read Previous

२८ वर्षको खडेरी तोड्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

नेपालका सुरुङमार्ग इतिवृत्त : नागढुङ्गाको गौरव गर्न लायक प्रगति, देशका यी १ दर्जन ठाउँमा बन्दैछन् सुरुङ Read Next

नेपालका सुरुङमार्ग इतिवृत्त : नागढुङ्गाको गौरव गर्न लायक प्रगति, देशका यी १ दर्जन ठाउँमा बन्दैछन् सुरुङ