नेप्सेमा लगातार गिरावट, यी हुन् धेरै गुमाउने १० कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । आइतबारदेखि निरन्तर ओरालो लागेको बजारले आज पनि दोहोरो अंकले घटेको हो । यससाताको ४ दिनमा नेप्से करिब ३५ अंकले घटेको छ ।

 

सूचकसँगै कारोबार रकम पनि निरन्तर घटेको छ । दुई साता अघिसम्म औसतमा दैनिक १० अर्ब बढीको कारोबार हुँदै आएकोमा घटेर साढे ४ अर्बमा सीमित भएको छ ।

 

निषेधाज्ञा खुकुलो भएसँगै अर्थतन्त्र क्रमशः चलायमान हुन थालेपछि अल्पकालीन लगानीकर्ताले पूँजी झिकेर अन्य क्षेत्रमै लगानी गर्न थालेपछि कारोबारमा ह्वात्तै गिरावट आएको अनुमान गरिएको थियो । साथै लगानीकर्ता मौद्रिक नीति नआउन्जेल पर्ख र हेरको अवस्थामा रहेकाले पनि कारोबारमा गिरावट आएको आँकलन गरिएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से १६.९७ अंकले घटेर २८०१.१३ विन्दुमा आइपुगेको छ । आज २२२ कम्पनीको ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँ बराबरको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १३ वटा समूहमध्ये विकास बैंक र माइक्रोफाइनान्स समूह बोह बाँकी सबै समूहको परिसूचक राताम्मे भएका छन् । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ०.३८ प्रतिशतले बढेको छ भने उत्पादनमूलक, होटल र हाइड्रोपावर समूह २ प्रतिशतभन्दा बढीले घटेका छन् ।

 

आज कारोबारमा आएका २२२ कम्पनीमध्ये ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १३५ कम्पनीको मूल्यमा गिरावट आएको छ । २१ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज छिमेक लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको साढे ४३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा माथिल्लो तामाकोशी २६ करोड र हिमालयन डिस्ट्रीलरी २३ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा आज सिभिल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ३.१६ प्रतिशतले बढेको छ ।

 

घट्दो बजारमा आज तामाकोशीको सेयर मूल्य सबैभन्दा धेरै ५.४५ प्रतिशतले घटेको छ । यस्तै, युनाइटेड इदी मार्दी हाइड्रोपावर ५.१९ प्रतिशत, राधी विद्युत्, शिवश्री, घलेम्दी, युनिभर्सल पावर, आरेन्टल होटल, सेन्टर फाइनान्स, खानीखोला हाइड्रोपावर र हिमालयन डिस्ट्रीलरीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग करोडौं घाटामा Read Previous

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग करोडौं घाटामा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’को तयारी Read Next

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’को तयारी