नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् घट्दो बजारमा धेरै मूल्य बढ्ने ८ कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार साढे ८ अंक्ले घटेको बजार आज लगातार दोस्रो दिन पनि ओरालो लागेको हो ।

 

सूचकसँगै कारोबार रकममा पनि भारी घटेको छ । दुई साता अघिसम्म औसतमा दैनिक १० अर्ब बढीको कारोबार हुँदै आएकोमा घटेर साढे ४ अर्बमा सीमित भएको छ ।

 

निषेधाज्ञा खुकुलो भएसँगै अर्थतन्त्र क्रमशः चलायमान हुन थालेपछि अल्पकालीन लगानीकर्ताले पूँजी झिकेर अन्य क्षेत्रमै लगानी गर्न थालेपछि कारोबारमा ह्वात्तै गिरावट आएको अनुमान गरिएको थियो । साथै लगानीकर्ता मौद्रिक नीति नआउन्जेल पर्ख र हेरको अवस्थामा रहेकाले पनि कारोबारमा गिरावट आएको आँकलन गरिएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ११.७८ अंकले घटेर २८२२.७४ विन्दुमा आइपुगेको छ । आज २२४ कम्पनीको ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७९ रुपैयाँ बराबरको १ करोड ६३ हजार ६३६ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएका छन् । उत्पादनमूलक समूह सबैभन्दा धेरै ३.९० प्रतिशतले बढेको छ । यस्तै, व्यापार समूह पनि ३.६१ प्रतिशतले बढेको छ भने हाइड्रोपावर र फाइनान्स समूह २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज कारोबारमा आएका २२४ कम्पनीमध्ये ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको मूल्यमा गिरावट आएको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको ४१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा माथिल्लो तामाकोशी १९ र नेपाल बैंक १५ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा आज विशाल बजार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।

 

यस्तै, हिमालयन डिस्ट्रीलरी ८.०२ प्रतिशत, छ्याङदी हाइड्रो ७.७८, गुडविल फाइनान्सको डिबेन्चर ५.६३, सीईडीबी हाइड्रोपावर ५.३१, नेपाल ल्युब आयल ४.९८, एचआइडीसीएल र नारायणी विकास बैंकको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

घट्दो बजारमा आज गोर्खा फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशतले घटेको छ ।

डीडीसीलाई सरकारले दियो २० करोड ऋण, किसानको ४५ करोड भुक्तानी दिन बाँकी Read Previous

डीडीसीलाई सरकारले दियो २० करोड ऋण, किसानको ४५ करोड भुक्तानी दिन बाँकी

अब नागरिक एपबाटै सवारी साधनको कर तिर्न सकिने Read Next

अब नागरिक एपबाटै सवारी साधनको कर तिर्न सकिने