सेयर बजारमा सामान्य गिरावट, घट्दो बजारमा मूल्य बढ्ने यी हुन् १० कम्पनी

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । बजार खुलेदेखि निरन्तर ओरालो लागेको बजार करिब साढे ८ अंकले घटेर बन्द भएको छ ।

 

सूचकमा सामान्य गिरावट आए पनि कारोबार रकममा भने ह्वात्तै घटेको छ । दुई साता अघिसम्म औसतमा दैनिक १० अर्ब बढीको कारोबार हुँदै आएकोमा घटेर ५ अर्बमा सीमित भएको छ ।

 

निषेधाज्ञा खुकुलो भएसँगै अर्थतन्त्र क्रमशः चलायमान हुन थालेपछि अल्पकालीन लगानीकर्ताले पूँजी झिकेर अन्य क्षेत्रमै लगानी गर्न थालेपछि कारोबारमा ह्वात्तै गिरावट आएको अनुमान गरिएको थियो । साथै लगानीकर्ता मौद्रिक नीति नआउन्जेल पर्ख र हेरको अवस्थामा रहेकाले पनि कारोबारमा गिरावट आएको हो ।

 

आज सेयर बजार मापक सूचक नेप्से ८.४८ अंकले घटेर २८३४.५२ विन्दुमा आइपुगेको छ । आज २२४ कम्पनीको ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५७ रुपैयाँ बराबरको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १३ वटा समूहमध्ये होटल, अन्य र सामूहिक लगानीकोष बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएका छन् । होटल समूह सबैभन्दा धेरै २.३६ प्रतिशतले बढेको छ भने फाइनान्स र विकास बैंक समूह १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज कारोबारमा आएका २२४ कम्पनीमध्ये ६० कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ कम्पनीको मूल्यमा गिरावट आएको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल १९ करोड र माथिल्लो तामाकोशी १६ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

आज गुडविल फाइनान्सको डिबेन्चरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

 

यस्तै, ओरेन्टल होटल ८.४७ प्रतिशत, सीईडीबी हाइड्रो ७.२५, कर्पोरेट डेभलपमेन्ट बैंक ६.१६, नेपाल फाइनान्स ४.०३, लिबर्टी इनर्जी, नेपाल टेलिकम, अपर तामाकोशी, हिमालयन डिस्ट्रीलरी र चन्द्रागिरी हिल्सको सेयर मूल्य २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

घट्दो बजारमा आज माछापुच्छे बैंकको डिबेन्चरको सेयर मूल्य सबैभन्दा धेरै ५.३८ प्रतिशतले घटेको छ ।

आर्थिक संरचनाको 'डिजाइन'मा छुटाइएको अनौपचारिक अर्थतन्त्र बिनाको समृद्धिको यात्रा ! Read Previous

आर्थिक संरचनाको 'डिजाइन'मा छुटाइएको अनौपचारिक अर्थतन्त्र बिनाको समृद्धिको यात्रा !

मेगा बैंकले ल्यायो ‘मेगा मेडि कार्ड’ सुविधा, डेढ लाखसम्म अस्पतालको बिल तिर्न मिल्ने Read Next

मेगा बैंकले ल्यायो ‘मेगा मेडि कार्ड’ सुविधा, डेढ लाखसम्म अस्पतालको बिल तिर्न मिल्ने