साञ्जेन विद्युत् आयोजनामा उपकरण जडान शुरु गरिँदै, यसै वर्ष सम्पन्न हुने
चाणक्य पोष्ट
प्रकाशित : 8:40 am, आइतबार, असार २०, २०७८

रसुवा । निर्माणाधीन माथिल्लो साञ्जेन विद्युत् आयोजनाको छिट्टै उपकरण जडान हुने भएको छ । सिम्बु गाउँमा रहेको सो आयोजनाको भौतिक निर्माण सम्पन्न भई विद्युत उत्पादन गर्ने उपकरण जडान शुरुआत हुन लागेको हो ।

 

अहिले अधिकांश उपकरण आयोजनास्थलमा आइसकेको र कोभिड–१९ समस्याले उपकरण जडान ढिलो भएको आयोजना प्रमुख सुदनसिंह महतले जानकारी दिए। उनले भने, “विसं २०७८ भित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । अब छिट्टै उपकरण जडान शुरुआत हुन्छ । ”

 

उपकरण जडानका लागि चिनियाँ प्राविधिक टोली आउन लागेका जनाइएको छ । हाल चीनले बाह्य हवाई उड्डयन रोकेकाले उनीहरु आउन ढिलाई भएको आयोजनाले जनाएको छ । १

 

४.८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको सो आयोजनाको प्रायःजसो संरचना निर्माण पूरा भएको छ । तिलोचे खोलामा १४ मिटर लामो बाँध , १ हजार ३८० मिटर लामो हेडरेस सुरूङ , ३४५ मिटरको पेनस्टक पाइप सुरूङ एवं पाइपलाई कंक्रिट समेतका निर्माण सम्पन्न भएको आयोजना प्रमुख महतले जानकारी दिए ।

 

प्रतिसेकेण्ड ११ दशमलव सात धनमिटर पानी विद्युत गृहमा पठाइने र तीन फ्रान्सिस नामको टरवाइन राखिने बताइएको छ । दुई वर्ष भित्र सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१३ देखि निर्माण शुरूआत भएको थियो ।

 

बाढी पहिरो , पेट्रोलियम पर्दाथको अभाव , भूकम्प र कोरोना सङ्क्रमणको जोखिम जस्ता बिबिध कारणले सो आयोजनाको निर्माण ढिलाइ भएको जनाइएको छ । आयोजनाको लागत भने रू दुई अर्ब दुई करोड रहेतापनि पुनराबलोकन गर्दा २० प्रतिशतले उत्पादन लागत बढ्ने आयोजना प्रमुख महतले बताए ।