चालू वर्षमा लक्ष्यको एक तिहाई मात्र विद्युत् उत्पादन
गीता भुजेल
प्रकाशित : 3:59 pm, बुधबार, असार १६, २०७८

काठमाडौं । चालू आर्थिक वर्षमा लक्ष्यको एकतिहाई मात्र विद्युत् उत्पादन हुने भएको छ । चालू आर्थिक वर्षमा १ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको ३५० मेगावाट मात्र विद्युत् उत्पादन हुने भएकाे हाे ।

 

स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष आशिस गर्गका अनुसार चालू आर्थिक वर्षमा निजी क्षेत्रको लगानीका आयोजनाबाट ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेकोमा २०० मेगावाट विद्युत् उत्पादन भएको छ ।

 

यस्तै, सरकारी लगानीको तामाकोशीबाट ४५६ मेगावाट उत्पादन गर्ने लक्ष्य रहेकोमा असार भित्र १५२ मेगावाट मात्र उत्पादन हुने जनाइएको छ ।

 

‘यो वर्ष कोरोनाका कारण धेरै जसो आयोजनाको लक्ष्य पूरा हुन नसकेको हो, पछिल्लो समय बाढी, पहिरोले समेत लक्ष्यमा केही प्रभाव पारेको छ,’ गर्गले चाणक्य पोष्टसँग भने ।

 

चालू आर्थिक वर्षमा निजी क्षेत्रका माउन्टेन इनर्जीले बनाएको ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत्, २५ मेगावाटको सिंगटी हाइड्रोपावर, शिवश्री हाइड्रोपावरको २२.१ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत्, लिबर्टी इनर्जी हाइड्रोपावरको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, हिमालयन हाइड्रोपावरको १२ मेगावाटको नामार्जुङ जलविद्युत, ५ मेगावाट क्षमताको घलेम्दीखोला लगायत आयोजनाबाट विद्युत् उत्पादन भएको छ ।

 

आगामी वर्ष १५०० मेगावाट उत्पादन गर्ने लक्ष्य

 

आगामी आर्थिक वर्षमा १५०० मेगावाट विद्युत् उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्य रहेको छ । आगामी वर्ष लक्ष्य अनुसार विद्युत् उत्पादन भए नेपालको विद्युत् उत्पादन ३ हजार मेगावाट हाराहारीमा पुग्ने उनले बताए ।

 

नेपालमा विद्युत् खपत १४०० मेगावाट जडित रहेको छ । आगामी आवमा १५०० मेगावाट विद्युत् जडित भए ३ हजार को हाराहारीमा विद्युत् उत्पादन भए पछि भारतबाट आयात हुने विद्युत् समेत घटाउन सकिने उनले बताए ।

 

नेपालमा हिउँदको समयमा भारतबाट ७०० मेगावाट बढी विद्युत् आयात गरिन्छ । जुन नेपालको कुल विद्युत् उत्पादनको ५० प्रतिशत भन्दा बढी हो । हिउँदमा नेपालको विद्युत् उत्पादन ६०० मेगावाटसम्म झर्ने गरेको छ । हिउँदमा पानीको वहाब घट्ने हुँदा विद्युत् उत्पादन समेत घट्ने गरेको उनले बताए ।

 

असारदेखि भदौसम्म १४०० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । बर्खामा आउने विपदका कारण केही विद्युत् उत्पादन कम हुन सक्ने हुँदा भारतको विद्युत् २०० मेगावाट आयात गर्नु पर्ने अवस्था आउन सक्ने उनले बताए ।

 

‘हामी विद्युत्मा आत्मनिर्भर भइसकेका छौँ, असारदेखि असोजसम्म विद्युत् आयात गर्नै पर्दैन माग अनुसार नै विद्युत् उत्पादन, वितरण र खपत हुन्छ, तर कहिलेकाहीँ विपदका कारण उत्पादनमा समस्या आउदा भारतबाट २०० मेगावाटका हाराहारीमा आयात पनि गर्नु पर्ने हुन सक्छ,’ गर्गले चाणक्य पोष्टसँग भने ।

 

नेपालमा कुल विद्युत् प्लान्ट ८० वटा रहेको छ । पछिल्लो समय वर्खाका समयमा २०० मेगावाट विद्युत् अवरोध आएको उनले बताए । उनले विद्युत् अवरोधको समयमा भने भारतबाट आयात नै गर्नु पर्ने अवस्था रहेको बताए । हाल २८ प्रतिशत विद्युत् भारतबाट आयात भएको छ । जुन २०० देखि ३०० मेगावाट रहेको छ ।

 

कसरी पूरा हुन्छ ३ वर्षमा विद्युत् निर्यात लक्ष्य ?

 

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा १५०० विद्युत् उत्पादन वृद्धि गर्ने लक्ष्य राखेको छ । आगामी आर्थिक वर्षमा लक्ष्य अनुसार विद्युत् उत्पादन भए नेपालमा उत्पादन हुने विद्युत् असार–असोज महिनामा निर्यातसम्म गर्न सकिने गर्गले बताए  ।

 

‘सरकारको लक्ष्य अनुसार १५०० मेगावाट विद्युत् उत्पादन भए नेपालको विद्युत् उत्पादन क्षमता ३ हजार पुग्छ, ३ हजारमा हाम्रो माग १४०० मेगावाट हो बाँकी विद्युत् मज्जाले निर्यात गर्न सकिन्छ,’ उनले भने ।

 

उनले सो विद्युत् भारतलाई निर्यात गर्न सकिने बताए । विद्युत् उत्पादन जति बढे पनि हिउँदमा भने विद्युत् अभाव हुने नै देखिन्छ । नेपालमा हिउँदका समयमा पानीको बहाव कम हुँदा उत्पादन स्वत घट्ने गरेको छ । त्यस समयमा फेरि भारतसँग विद्युत् निर्यात गर्नुपर्ने अवस्था सृजना हुने छ ।

 

हिउँदमा विद्युत् अभाव सृजना नहोस भन्नका लागि सरकारले अर्धजलाशययुक्त विद्युत् उत्पादनको व्यवस्था गर्नुपर्ने हुन्छ । गर्गका अनुसार ड्याममा पानी बर्खामा जम्मा गरेर राख्ने र हिउँदमा पानीको अभाव हुँदा त्यसैबाट विद्युत् उत्पादन गर्न सकिने छ । तर, नेपालको सन्दर्भमा यस्तो खालका विद्युत् उत्पादन आयोजनाहरु धेरै छैनन् । हाल कार्यान्वयनमा रहेका आयोजनाहरुमा समेत भने जस्तो काम हुन नसकेको उनले बताए ।

 

तनहुँ हाइड्रोपावर बाहेक अर्धजलाशययुक्त विद्युत् उत्पादन आयोजनाहरु कागजमा मात्र सीमित रहेको उनले बताए ।