काठमाडौं । नेपाली बजारमा जुत्ताको उत्पादन बर्षेनी बढ्दो छ । सन् २०१५ मा २ करोड ३० लाख जोर उत्पादन हुने गरेको जुत्ता सन् २०१९ मा आइपुग्दा बार्षिक ५ करोड जोर उत्पादन हुन थालेको छ ।
७५ वटाभन्दा बढि ठूला उद्योगहरुले नेपाली बजारमा जुत्ता उत्पादन गर्छ भने ८ सय ५० भन्दा स-साना उद्योग दर्ताभइ विभिन्न किसिमका जुत्ता चप्पल उत्पादन गरिरहेका छन् ।
नेपालमा वि.सं. २०२२ सालमा बाँसबारी छालजुत्ता कारखाना स्थापना भएपछि जुत्ता चप्पलको उत्पादन विधिवत सुरुवात भएको हो । त्यसयता स्वदेशी उत्पादनको प्रयोग बढ्दै गएको छ ।
बाँसबारी छालजुत्ता उद्योगले नेपालमा भएको छालाको प्रयोग गरी जुत्ता उत्पादन गर्ने गथ्र्यो । हाल यो बन्द भइसकेको छ ।
अहिले बर्षेनी १५ देखि २० प्रतिशतले नेपाली जुत्ता चप्पलको बजार बढेरहेको यसमा संलग्न व्यवसायी बताउँछन् । नेपाली बजारमा स्वदेशी ब्राण्डको विश्वानियता पनि बढिरहेको छ ।
‘नेपाली जुत्ता प्रति आम उपभोक्ताहरुको विश्वास बढेको छ, जसले गर्दा उद्योगीहरुलाई उत्साहित बनाएको छ ।’ फुटवयेर म्यानुफ्याक्चरर्स एशोसिएन अफ नेपालका महासचिब नवराज गौतमले भने ।
महंगा जुत्ता उत्पादन गर्न भने विदेशबाट नै कच्चा पदार्थ ल्याउनु पर्ने बाध्यता रहेको छ । त्यस्तोमा तयारी जुत्ता र कच्चा पदार्थमा खासै भन्सार दरमा अन्तर नहुँदा प्रतिस्पर्धी बन्न नसकेको उद्योगीहरुको गुनासो रहेको छ ।
आर्थिक बर्ष २०७४/०७५ मा नेपालीहरुको प्रतिव्यक्ति उपभोग दर २.६६ रहेको गौतमले बताए । सोही आर्थिक बर्षमा १ अर्ब २८ करोड ५० लाख ५ हजार बरारबको जुत्ता चप्पल निर्यात भएको टिइपीसीको तथ्याङ्कले देखाएको छ ।
आव २०७५/७६ मा भने निर्यात घटेर ९३ करोड ८७ लाख ३४ हजारमा झरेको छ । यस विषयमा गौतम भन्छन् ‘नेपाली उद्योगीहरु स्वदेशी बजार विस्तारमा लागेका छन् जसको कारण निर्यात घटेको हुन सक्छ ।’
नेपालबाट १ करोड २५ लाख जोर जुत्ता विदेश निर्यात हुने गरेको गौतम जानकारी दिए । नेपालको उत्पादन विशेषतः भारत, अस्ट्रेलिया तथा अफ्रिकी मुलुकतर्फ निर्यात हुने गरेको छ ।
नेपालमा क्रियाशिल अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था जीआइजेटको सन् २०१५ को तथ्याङ्क अनुसार नेपालमा जुत्ताको उत्पादन लागत प्रति जोर २ सय ७१ देखि १२ सय ६ रुपैयाँसम्म रहेको देखाएको थियो ।
जुत्ता उत्पादन गर्न करिब ३६ वटा कच्चा पदार्थको आवश्यक पर्ने गर्छ । सन् २०१५ तिर ७५ प्रतिशत कच्चा पदार्थ आयात गरेर सञ्चालन गर्ने गरेको उद्योगले आव २०७५/७६ सम्म आइपुग्दा ५० प्रतिशत कच्चा पदार्थ स्वदेशी नै प्रयोग गर्न थालेका छन् ।
नेपाली जुत्ता चप्पल उद्योगमा करिब ५० अर्ब जति लगानी रहेको जानकारी महासचिब गौतम दिए । नेपालमा अहिले करिब ५ देखि ६ करोड जोर जुत्ता उत्पादन हुने गरेको छ ।
नेपाली बजारमा विदेशी जुत्ताको आयात पनि निकै ठूलो मात्रामा रहेको छ । आव २०७४/७५ मा ४ करोड २५ लाख जोर जुत्ता आयात भएको थियो । तर पछिल्लो समय न्युन बिल बिजक गरेर ल्याउने क्रम रोकिएको गौतम बताउँछन् ।
उनी भन्छन् ‘अहिले बजारमा ब्राण्डेड कम्पनीको नक्कल गरेर ल्याएको सामान बजारमा एकदमै कम छ । भएका पनि पुराना स्टक मात्रै हुन् ।’ जसका कारण नेपाली जुत्ता उद्योगलाई निकै राम्रो भएको छ ।
उद्योगले करिब ६० हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने, अप्रत्यक्ष रुपमा २ लाख ५० हजारभन्दा बढिलाई प्रदान गरेको छ । अहिले उद्योगको मुख्य समस्या भनेकै दक्ष कालिगढ नपाउनु हो ।
फुटवयेर म्यानुफ्याक्चरर्स एशोसिएन अफ नेपालले २ हजार भन्दा बढिलाई कालिगढको तालिम प्रदान गरेको छ ।
महंगा जुत्ता उत्पादन गर्न भने विदेशबाट नै कच्चा पदार्थ ल्याउनु पर्ने बाध्यता रहेको छ । त्यस्तोमा तयारी जुत्ता र कच्चा पदार्थमा खासै भन्सार दरमा अन्तर नहुँदा प्रतिस्पर्धी बन्न नसकेको उद्योगीहरुको गुनासो रहेको छ ।
सरकारी निकायहरुले स्वदेशी उत्पादन विदेशी भन्दा १५ प्रतिशतसम्म महंगो भएपनि खरिद गर्नुपर्ने नीति नेपाल सरकारले बनाए पनि नेपाली सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीले त्यसको पालन गरेको पाईदैन ।
महासचिव गौतमका अनुसार ति सरकारी निकायले हाम्रो जुत्ता माथि गुणस्तरको प्रश्न गर्ने गर्छन् । नेपाली जुत्ताले नेपाल गुणस्तर चिह्न प्राप्त गरे पनि त्यसलाई मानिरहेका छैनन् ।
यदि नेपालका सुरक्षा निकायले नेपाली जुत्ताको ५० प्रतिशत मात्र प्रयोग गर्ने हो भने पनि नेपाली जुत्ताको बजार निकै बढ्ने जानकार बताउँछन् । सवै सुरक्षा निकायहरुको संख्या नेपालमा २ लाख भन्दा ज्यादा छ ।
एशोसिएसनले पनि नेपाली सुरक्षा निकायसँग नेपाली जुत्ता प्रयोग गर्नका लागि नीतिगत रुपमा नै लविङ्ग भइरहेको गौतमले बताए । नेपालको जुत्ता उद्योगमा उत्पादन लागत तुलानात्मकरुपमा बढि छ ।
जीआइजेटको प्रतिवेदन अनुसार नेपालमा जुत्ता उत्पादनको लागत मध्ये २० प्रतिशत मजदुरको ज्यालामा जानेको गरेको छ । यदि नयाँ प्रविधिको प्रयोग र उच्चतम सिप भएका कालिगढको उपलब्धता हुने हो भने लागत केही घट्न सक्छ ।
नेपालीको समग्र जुत्ता बजारमा नेपाली उत्पादनले ६५ प्रतिशत हिस्सा ओगटेको छ । बाँकी ३५ प्रतिशत विदेशी जुत्ता आउने गरेको छ । नेपाली उत्पादनको गुणस्तरीयतामा वृद्धि, उत्पादन लागत घटाउने तथा प्रतिस्पर्धात्मक क्षमताको वृद्धितर्फ नेपाली जुत्ता उत्पादकहरु अग्रसर हुनु पर्नेछ ।