काठमाडौं । गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा धान रोपाइँ घटेको छ । यो वर्ष असार १५ सम्म २७ प्रतिशत धान रोपाइँ भएको छ ।
कुल धान रोपाइँ हुने १२ लाख ७१ हजार ७०६ हेक्टर मध्ये हालसम्म ३ लाख ७१ हजार ९५८ हेक्टरमा धान रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जानकारी दिएको छ । गत वर्ष सोही अवधिमा ४ लाख ८६ हजार ६६२ हेक्टरमा धान रोपाइँ भएको थियो ।
हासम्म उच्च पहाडी क्षेत्रमा ३३.४८ प्रतिशत मात्र धान रोपाइँ भएको छ । कुल ४८ हजार १९३ धान रोपाइँ हुने क्षेत्रफल मध्ये हालसम्म १६ हजार १३५ हेक्टरमा धान रोपाइँ भएको हो । गत वर्ष उच्च पहाडी क्षेत्रमा सोही अवधिमा १९ हजार ६२३ हेक्टरमा धान रोपाइँ भएको थियो ।
कुन प्रदेशमा कति धान रोपाइँ ?
बाली विकास केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठका अनुसार हालसम्म प्रदेश १ मा १७.९९ प्रतिशत मात्र धान रोपाइँ भएको छ । असार १५ सम्ममा सो प्रदेशमा ४९ हजार ६२३ हेक्टरमा धान रोपिएको हो । प्रदेश १ मा कुल २ लाख ७५ हजार ९१ हेक्टर जमिन धान रोप्न मिल्ने छन् । विगतमा सोही समयमा ६० हजार १५१ हेक्टरमा धान रोपाइँ भएको थियो ।
प्रदेश २ मा हालसम्म १० प्रतिशत मात्र धान रोपाइँ भएको छ । सो प्रदेशमा ३ लाख ६५ हजार ६१५ हेक्टर धान रोप्न योग्य रहेका छन् । हालसम्म ३८ हजार ५८६ हेक्टर जमिनमा धान रोपाइँ भएको हो । विगतमा सोही समयमा १ लाख ६ हजार ९८ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो ।
बागमती प्रदेशमा हालसम्म २१ प्रतिशत धान रोपाइँ भएको छ । सो प्रदेशमा १ लाख १५ हजार २९५ हेक्टर धान रोपाइँ हुने जमिन रहेकोमा हालसम्म २४ हजार २८८ हेक्टरमा धान रोपाइँ भएको छ । गत वर्ष सोही समय ४१ हजार ७५८ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो ।
गण्डकी प्रदेशमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । १ लाख ८ हजार २७८ हेक्टर जमिन धान रोप्न योग्य रहेको छ । सो मध्ये १६ हजार ६१२ हेक्टर जमिनमा धान रोपाइँ भएको छ । गत वर्ष सोही समयमा गण्डकी प्रदेशमा ३८ हजार ६१० हेक्टर जमिनमा धान रोपाइँ भएको थियो ।
लुम्बिनी प्रदेशमा ४५ प्रतिशत धान रोपाइँ भएको छ । कुल ३ लाख ३ हजार ५९३ हेक्टर जमिन मध्ये हालसम्म १ लाख ३९ हजार ४५६ हेक्टर जमिनमा धान रोपाइँ भएको हो । गत वर्ष सोही समयमा १ लाख ३९ हजार ६८ हेक्टरमा धान रोपाइँ भएको थियो ।
कर्णाली प्रदेशमा कुल ६२ प्रतिशत धान रोपाइँ भएको छ । कुल ३८ हजार ३८५ हेक्टर मध्ये हालसम्म २३ हजार ८५० हेक्टरमा धान रोपाइँ भएको हो । गत वर्ष सोही समयमा १८ हजार ८६७ हेक्टर जमिनमा धान रोपिएको थियो ।
सुदूर पश्चिम प्रदेशमा ४८ प्रतिशत धान रोपाइँ भएको छ । कुल १ लाख ६४ हजार ६३९ हेक्टर मध्य हालसम्म ७९ हजार ५४० हेक्टरमा धान रोपाइँ भएको हो गत आवमा सोही समयमा ८१ हजार ५६७ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो ।
किन घट्यो धान रोपाइँ ?
यो वर्ष कोभिडका कारण धान रोपाइँमा असर परेको छ । मानिसहरु धेरै जम्मा भएर एकै ठाउँमा रोपाइँ गर्न नपाउने भएकाले यो पटक धान रोपाइँ घटेको कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताए । उनले कोभिडका कारण धेरै भीड गर्न नदिएका कारण अरुकोमा रोपाइँ गर्ने मानिसहरुले एकै ठाउँमा धेरै गर्न नपाएको उनले बताए ।
‘यो पटक कोरोनाका कारण धन रोपाइँ अलि धेरै हुन पाएको छैन, फेरि कतै बाढि पहिरो गएकाले त्यसले पनि असर गरेको छ,’ घिमिरेले भने ।
उनले पहिरो र बाढिका कारण पनि कतिपयको जमिन बगाएको र त्यसमा क्षति पुगेकाले समयमा धान रोपाइँ हुन नपाउँदा धान रोपाइँ कम हुन गएको बताए ।