जीवन विकास लघुवित्तको आइपीओमा आवेदनको ओइरो, कति जनाले भरे ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदनको ओइरो लागेको छ ।

 

लघुवित्तको सेयर विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आइतबार ५ बजेसम्म १५ लाख २८ हजार ४४१ जनाले २ करोड ३२ लाख ९२ हजार १३० कित्ताका लागि आवेदन दिएका छन् । यो मागको १२.६० गुणाभन्दा बढी हो ।

 

लघुवित्तले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३० कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।

 

निष्काशित कुल सेयरमध्ये ३० हजार ४२० कित्ता (०.५ प्रतिशत) लघुवित्तका कर्मचारी, ९८ हजार ८६५ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

 

लघुवित्तको आइपीओमा असार १५ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिमा सबै विक्री नभएमा ढिलोमा असार २५ गतेसम्म आवेदन दिन पाइनेछ । लघुवित्तको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

 

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्ध एनएमबी क्यापिटल रहेको छ । लघुवित्तको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता मध्यम रहेको जनाउँदछ ।

 

लघुवित्तले हाल देशका १९ वटा जिल्लाका १३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।

 

हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख खुद मुनाफा कमाएको छ । ४१ करोड ६ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।

 

चैत मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी १३७.३२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ३८८.२९ रुपैयाँ छ ।

 

कति कित्ता भर्नु उपयुक्त ?

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई १८ लाख ४८ हजार १५ कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा १ लाख ८४ हजार ८०१ जनालाई मात्र सेयर दिन पुग्छ ।

 

यसअघि खुलेका आइपीओमा करिब १८ लाखले आवेदन दिँदै आएका छन् भने तीन दिनमै १५ लाख बढीले आवेदन दिइसकेका छन् । यस आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

सडक र पुल नबन्दासम्म मेलम्ची खानेपानी मर्मत गर्न नसकिने Read Previous

सडक र पुल नबन्दासम्म मेलम्ची खानेपानी मर्मत गर्न नसकिने

राधी विद्युतको ३६.५ प्रतिशत लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

राधी विद्युतको ३६.५ प्रतिशत लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन