काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट परीक्षण उत्पादनको तयारी शुरु गरिएको छ ।
यसअघि पटकपटक उत्पादन मिति तोकिएको आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् परीक्षण उत्पादन शुरु गर्न लागिएको हो ।
असार पहिलो साता वर्षाले चीनतर्फ पर्ने तामाकोशीको सहायक नदी पहिरोले थुनिएपछि तामाकोशीको जलाशय खाली गरिएको हो । जलाशय भरिएलगत्तै सुरुङमा पानी भरेर पुनः परीक्षण शुरु गरिने आयोजनाका प्रवक्ता गणेश न्यौपाने जानकारी दिए ।
आयोजनाबाट कुल ४५६ मेगावाट बिजुली उत्पादन गरिने छ । ‘पिकिङ रन अफ रिभर’ प्रकृतिको आयोजनामा ६ टर्बाइन रहेेका छन् । प्रत्येक टर्बाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
उत्पादनको औपचारिक मिति नतोकिए पनि तयारी अन्तिम अवस्थामा पुगेकाले भोली (आइतबारदेखि शनिबारसम्म) देखि जुनसुकै बेला बिजुली उत्पादन गरिने छ । ‘अहिले पनि केही काम भइरहेको छ । ती काम सकिन साथ जुनसुकै बेला परीक्षण उत्पादन हुनसक्छ,’ उनले भने ।
आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएकाले असार १३ गतेदेखि १९ गतेसम्म खिम्ती-लामोसाँघु १३२ केभीको प्रसारण लाइन बन्द हुने जानकारी गराएको प्रवक्ता न्यौपानेले बताए ।
तामाकोशीको बिजुली प्रसारण लाइनमा जोड्ने क्रममा ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट वितरित विद्युत केही समय कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यसबाट केही समय काठमाडौं उपत्यकाका ग्राहक समेत प्रभावित हुनसक्ने जनाइएको छ ।
तामाकोशीको बिजुली तामाकोशी करिडोर हुँदै खिम्तीमा बनाइएको नयाँ सबस्टेशनमा जोडिने भएको छ । खिम्ती सबस्टेशनमार्फत् नै उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोडिने छ। यसअघि तामाकोशी करिडोरबाट आएको बिजुली सिधै ढल्केबर सबस्टेशन लाने गरी खिम्ती सबस्टेशनमार्फत जोडिएको थियो ।
आयोजनाबाट कुल ४५६ मेगावाट बिजुली उत्पादन गरिने छ । पिकिङ रन अफ रिभर’ प्रकृतिको आयोजनामा ६ टर्बाइन रहेेका छन् । प्रत्येक टर्बाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
पहिलो युनिटबाट उत्पादन शुरु गरिएपछि अन्य युनिटबाट पनि क्रमशः बिजुली उत्पादन गरिने छ । आगामी भदौ/असोजसम्ममा सबै युनिटबाट बिजुली उत्पादन गरिसक्ने आयोजनाको लक्ष्य छ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना २०७२ सालमै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । भूकम्प, नाकाबन्दी, ठेकेदारको ढिलाई, कोरोना लगायत कारण आयोजनाको काममा ढिलाइ भएको हो ।
२०६८ सालमा निर्माण शुरू गर्दा यस आयोजनाको लागत कुल ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो । २०७७ पुसमा निर्माण सम्पन्न हुने प्रक्षेपणसहित यसको लागत ८३ अर्ब ७६ करोड प्रक्षेपण गरिएको थियो । यसमध्ये ५३ अर्ब लागत खर्च रहेको छ भने ३० अर्ब रुपैयाँ ब्याज रहेको छ ।
आयोजना पूर्णरुपमा संचालनमा आएपछि वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले विद्युत् विक्रीबाट वार्षिक करिब ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ ।