मेलम्ची । सिन्धुपालचोकको मेलम्ची नगरपालिकाले ६० वर्ष उमेर पुगेका अविवाहित एकल महिला तथा पुरुषलाई मासिक १ हजार भत्ता दिने भएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो व्यवस्था गरेको हो । यस्तै, नगरपालिकाले आधारभूत तहसम्मको अध्ययन पूरा गरी विद्यालय छाडेका १६ वर्षभन्दा माथिका इच्छुक व्यक्तिलाई रोजगारमूलक तालीमको व्यवस्था मिलाउने कार्यक्रम पनि ल्याएको छ ।
नीति तथा कार्यक्रममा बाढी प्रभावितलाई घरधनीले ३ महिनासम्मको घरभाडा छुट गरेमा सोही आवमा तिर्नुपर्ने सबै बहाल कर छुट गरिने पनि उल्लेख गरिएको छ । कृषिलगायत क्षेत्रमा यसअघि नै ल्याइएको लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिइने पनि कार्यक्रममा समावेश छ ।
सञ्चार जगत्लाई साझेदारी अवधारणानुसार सहयोग गर्ने, पत्रकारिता क्षेत्रको प्रबद्र्धनका लागि नेपाल पत्रकार महासङ्घ, सामुदायिक रेडियो र सञ्चार सम्बद्ध निकायसँग समन्वय गरी काम गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।