काठमाडौं । सेयर बजारमा फेरि पहिरो गएको छ । गत बुधबारदेखि निरन्तर पहिरो गएको बजारमा हिजो एकैदिन ७९ अंकको उछाल आए पनि आज फेरि उच्च अंकले घटेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । यससाता दैनिक औसतमा ११ अर्बको कारोबार हुँदै आएकोमा आज घटेर सवा ८ अर्बमा सीमित भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ५३.८८ अंकले घटेर २८५९.९६ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ रुपैयाँ बराबरको १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक र फाइनान्स समूह सबैभन्दा धेरै ३३ प्रतिशतले घटेका छन् ।
आज कारोबारमा आएका २१८ कम्पनीमध्ये जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८५ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ५४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्स्योरेन्स ४२ करोड र राधी विद्युत् कम्पनी ३८ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
उच्च अंकले घटेको बजारमा आज ५ कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ । कालिका पावर, नेपाल फाइनान्स, मञ्जुश्री फाइनान्स, नेपाल हाइड्रो र अरुण काबेलीको सेयर मूल्य ५ प्रतिशभन्दा धेरैले घटेको छ ।
यस्तै, मल्टी प्रपोज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, पाँचथर पावर, हिमालयन पावर र ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले पनि ४ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।
घट्दो बजारमा आज राधी विद्युत् कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।