सडकका लागि छुट्याइएको बजेट आधा मात्रै खर्च, लक्ष्यको जम्मा २६ प्रतिशत कालोपत्र

सांकेतिक तस्वीर

काठमाडौं । यस वर्ष पनि सडक विभागले लक्ष्य अनुसार काम गर्न नसक्ने देखिएको छ । विगतका वर्षमा पनि विनियोजित बजेट खर्च गर्न नसकेको विभागको चालू वर्ष पनि सोही प्रवृति दोहोरिने देखिएको हो ।

 

हालसम्म विनियोजित बजेटमध्ये करिब आधा मात्र खर्च भएको छ । चालू आर्थिक वर्ष २०७७/७८ का लागि कुल ११७ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएकोमा हालसम्म करिब ५३ प्रतिशत (करिब ६२ करोड रुपैयाँ) मात्र खर्च भएको विभागले जनाएको छ ।

 

विभागका सूचना अधिकारी रमेशकुमार सिंहले यस वर्ष पनि कोरोनाका कारण विनियोजित बजेट पूरै खर्च नहुने अवस्था आएको बताए । ‘यो वर्ष कोरोनाका कारण उपलब्धी कम देखिएको छ, अहिले मनसुन शुरु भएकोले सोचे जस्तो काम गर्न सकिएको छैन,’ सिंहले चाणक्य पोष्टसँग भने ।

 

चालू आर्थिक वर्षको ११ महिनामा ४७३ किलोमिटर नयाँ सडक कालोपत्र भएको उनले जानकारी दिए । जुन लक्ष्यको २६ प्रतिशत मात्र हो । सडक विभगले चालू आर्थिक वर्षमा १८०० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखेको थियो ।

 

यस्तै, चालू वर्षमा ३०८ किलोमिटर सडकमा ग्राभेल निर्माण भएको विभागले जनाएको छ । विभागले १ हजार किलोमिटर सडक ग्रावेल निर्माण गर्ने लक्ष्य राखेको थियो ।

 

सिंहका अनुसार चालू आवको सो अवधिमा १७० किलोमिटर नयाँ ट्रयाक खुल्ला भएको बताए । सरकारले ५०० किलोमिटर सडकमा नयाँ ट्रयाक खुल्ला गर्ने लक्ष्य राखेको थियो ।

 

साथै ५६५ किलोमिटर बढि सडक विस्तारका काम सम्पन्न भएको छ । यस्तै पुनर्निर्माण अन्तर्गत २१३ किलोमिटर सडक कालोपत्र भएका छन् । पुनर्निर्माण तर्फ ३३४ किलोमिटर सडक चालू आवभित्र पुननिर्माण गर्ने लक्ष्य राखिएको थियो ।

 

देशभर झण्डै ३४१ किलोमिटर सडकमा खाल्टा खुल्टी टाल्टु गर्ने काम भएको छ । चालू आव भित्र ७२९ किलोमिटर सडक टालटुल गर्ने लक्ष्य राखिएको थियो ।

 

सडक विभागले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षमा देशभर १०४ पुल निर्माण सम्पन्न भएका छन् । ३८५ पुल निर्माणको काम भइरहेको छ । चालू आर्थिक वर्षभित्र ३ सय पुल निर्माण सम्पन्न गर्ने लक्ष्य सडक विभागको रहेको थियो ।

 

पछिल्लो समय कोभिड १९ को दोस्रो लहर शुरु भएपछि सरकारले वैशाख १६ गतेबाट देशभर निषेधाज्ञ जारी गरेको थियो । सो कारण सडक निर्माणका धेरै कामले गति लिन सकेका थिएनन् । निषेधाज्ञ खुकुलो भएसँगै घर गएका मजदुर काममा आउन थालेको सिंहले बताए । उनले अबको १ साता भित्र झरीले समस्या नगरे सडक निर्माणले गति लिने बताए ।

 

आन्तरिक हवाई उडान खुला, क्षमताको ५० प्रतिशत मात्रै उडान हुने Read Previous

आन्तरिक हवाई उडान खुला, क्षमताको ५० प्रतिशत मात्रै उडान हुने

निम्बसद्धारा १० लाखभन्दा धेरै मास्क वितरण Read Next

निम्बसद्धारा १० लाखभन्दा धेरै मास्क वितरण