काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।
निष्काशन हुने कुल सेयरमध्ये ६ हजार ५८ लघुवित्तका कर्मचारी, १९ हजार ४५० कित्ता सामूहिक लगानीकोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आइपीओमा असार २१ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिमा सबै विक्री नभएमा ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन पाइनेछ । लघुवित्तको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्ध एनएमबी क्यापिटल रहेको छ । लघुवित्तको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता मध्यम रहेको जनाउँदछ ।
हाल ८ करोड २२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।लघुवित्तले हाल देशका १२ वटा जिल्लाका ३७ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ३ करोड ३२ लाख खुद मुनाफा कमाएको छ । ८ करोड २२ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा ४ करोड २३ लाख रुपैयाँ सञ्चित छ ।
लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी २६.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३२.८८ रुपैयाँ रहेको छ ।