सेयर बजारमा भीषण पहिरो, लगानीकर्ताको एकैदिन गुम्यो १ खर्ब सम्पत्ति

काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । गत बुधबारदेखि ओरालो लागेको बजारमा निरन्तर पहिरो गएको हो ।नेपाल धितोपत्र बोर्डले नामै तोकेर जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरेसँगै त्यसको प्रभाव स्वरुप बजारमा भारी गिरावट आएको हो ।

 

पछिल्लो ३ दिनमा मात्रै नेप्से करिब ११५ अंकले घटेको छ । सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । गतहप्ता दैनिक १६ अर्ब हाराहारीमा कारोबरा हुँदै आएकोमा आज पोनै १२ अर्बमा सीमित भएको छ । लगातार बजार घट्न थालेपछि लगानीकर्ता हतोत्साहित हुँदा कारोबारमा प्रत्यक्ष असर परेको हो ।

 

बजारमा पहिरो जाँदा लगानीकर्ताले एकैदिन १ खर्ब ३ अर्ब बढीको सम्पत्ति गुमाएका छन् । नेप्सेका अनुसार आज बजार पूँजीकरण ४१ अर्ब ३९ अर्बबाट घटेर ४० खर्ब ३६ अर्बमा सीमित भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ६३.११ घटेर २९०५.३२ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २३१ कम्पनीको ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८६ रुपैयाँ बराबरको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । विकास बैंक, फाइनान्स र हाइड्रोपावर समूह सबैभन्दा धेरै ३३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज कारोबारमा आएका २३१ कम्पनीमध्ये जम्मा १७ कम्पनीको सेयर मूल्य बढेको छ भने २०० कम्पनीको मूल्यमा गिरावट आएको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ८१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्स्योरेन्स ४३ करोड र नेशनल हाइड्रो ३३ कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

उच्च अंकले घटेको बजारमा आज युनियन हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले सबैभन्दा धेरै करिब १० प्रतिशत गुमाएका छन् ।

 

यस्तै, आज श्री इन्भेष्टमेन्ट, वरुण हाइड्रोपावर र नेपाल हाइड्रोका सेयरधनीले ८ प्रतिशतभन्दा धेरै गुमाएका छन् भने खानीखोला, घलेम्दी र सीईडीबी हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ । ङादी ग्रुप पावर, गुह्येश्वरी मर्चेन्ट र समृद्धि फाइनान्सको सेयर मूल्य पनि साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

घट्दो बजारमा आज कुमारी बैंकका प्रमोटर सेयरधनीले सबैभन्दा धेरै ८.६२ प्रतिशत कमाएका छन् ।

रोनाल्डोले आधा मूल्य घटाएर किन बेच्न खोज्दैछन् ट्रम्प टावरको अपार्टमेन्ट ? Read Previous

रोनाल्डोले आधा मूल्य घटाएर किन बेच्न खोज्दैछन् ट्रम्प टावरको अपार्टमेन्ट ?

नेप्सेमा ६३ अंकको पहिरो जाँदा पनि मूल्य बढ्ने यी हुन् १५ कम्पनी Read Next

नेप्सेमा ६३ अंकको पहिरो जाँदा पनि मूल्य बढ्ने यी हुन् १५ कम्पनी