बाढीले ४ जलविद्युत् आयोजनामा क्षति, १ अर्ब बढीको नोक्सानी

कास्की । केही दिनदेखिको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कास्कीको मादी गाउँपालिकामा ४ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

 

मादीको वडा नं १ र २ स्थित नदी किनारमा निर्माण सम्पन्न भएका र निर्माणाधीन जलविद्युत् आयोजनामा गएरातिको बाढीले ठूलो क्षति गरेको हो ।

बाढीबाट ४४ मेगावाट क्षमताको निर्माणाधीन सुपर मादी जलविद्युत् आयोजनामा सबैभन्दा बढी क्षति पुगेको र सञ्चालनमा रहेका अन्य तीन आयोजनामा आंशिक क्षति पुगेको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए ।

 

उनका अनुसार आयोजना सम्पन्न भएर हाल सञ्चालनमा रहेका १० मेगावाटको सिक्लेस हाइड्रो पावर, १२ मेगावाट क्षमताको हिमालयन हाइड्रो (नार्माजुङ) र २५ मेगावाट क्षमताको अपर मादीमा क्षति पुग्दा विद्युत् उत्पादन अहिले बन्द भएको छ ।

 

अपर मादीको बाँध पुरिएको र विद्यृत् गृहमा बाढीले क्षति पुर्याएको अध्यक्ष गुरुङले जानकारी दिए । पहिरोले सिक्लेस हाइड्रको प्रशारण लाइन बगाएको छ भने विद्युत् गृह पनि जोखिममा रहेको छ । आगामी वर्ष विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको सुपर मादी आयोजना बाढीले सबैभन्दा बढी प्रभावित बनेको छ ।

 

आयोजनामा काम गर्ने १७० जना मजदूरलाई भने स्थानीयवासी, नेपाली सेनालगायतको पहलमा उद्धार गरी विद्यालयलगायतका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

 

७ अर्ब ५० करोड लगानीमा बन्दै गरेको सो आयोजनामा बाढीबाट १ अर्ब भन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान रहेको आयोजनाका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए ।

 

उनका अनुसार इलेक्ट्रो मेकानिकलतर्फ ३० करोड, हाइड्रो मेकानिकल १२ देखि १५ करोड, सिभिल कन्ट्रयाक्टरको निर्माण सामग्री, डन्डी, फलामसहित २० करोड, प्लान्ट र उपकरणमा २० करोड र सिभिल संरचनामा २० करोड गरी एक अर्ब हाराहारीमा क्षति पुगेको छ ।

 

यसैगरी आयोजनाको सुरुङबाहेक बाँध, विद्युत् गृह, हाइड्रो मेकानिकल र अन्य सिभिल संरचनाहरु बाढीले बगाएको छ ।

 

आयोजनास्थलमा रहेकका चार वटा एक्साभेटर, चारवटा टिपर, दुईवटा ट्रान्जिट मिस्कर, छ वटा कम्प्रेसर, अन्दाजी ४५० टन डण्डी र १० हजार बोरा सिमेन्ट बगाएको आयोजनाले जनाएको छ । हाल आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएकामा बाढीका कारणले पुगेको क्षतिबाट आयोजना थप एक वर्ष लम्बिने र लागत बढ्ने अनुमान गरिएको उनले बताए । रासस

कहिलेदेख खुल्छ सवारी लाइसेन्सको ट्रायल ? यस्तो छ तयारी Read Previous

कहिलेदेख खुल्छ सवारी लाइसेन्सको ट्रायल ? यस्तो छ तयारी

किसानले बेचेपछि अलैँचीको मूल्य वृद्धि Read Next

किसानले बेचेपछि अलैँचीको मूल्य वृद्धि