९ महिनादेखि त्रिपाल मुनि थन्किएको रेल कहिलेदेखि आउँछ संचालनमा ?

काठमाडौं । ९ महिनादेखि त्रिपाल मुनि थन्किएर बसेको रेल संचालन गर्ने तयारी गरिएको छ । गत असोजमा भारतबाट ल्याइएको जनकपुर–जयनगर रुटमा गुड्ने उक्त रेल चलाउने अन्तिम तयारी गरिएको हो ।

 

भौतिक, पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले जेठ १५ भित्रै रेल संचालनमा ल्याउन निर्देशन दिएसँगै चलाउने तयारी गरिएको रेल विभागले जनाएको छ ।

 

जनकपुर–जयनगर रेलमार्ग जेठ पहिलो साताबाट संचालन गरिएको भए पनि कोरोनाका कारण स्थगित भएको रेल विभागकी महानिर्देशक प्रमिला बज्रचार्यले बताइन् । उनका अनुसार रेल संचालनका लागि कानुन, जनशक्ति लगायत सबै तयारी पूरा भएकाले अब निषेधाज्ञा हट्ने बित्तिकै संचालन गरिने छ ।

 

‘अब कोरोना संक्रमण कम नभइ  रेल सञ्चालन गर्न पनि सकिँदैन, कोरोनाले धेरै जनशक्ति कम भएका छन्,’ महानिर्देशक बज्रचार्यले चाणक्य पोष्टसँग भनिन् ‘अब निषेधाज्ञ सकिए लगतै रेल सञ्चालनमा ल्याउने छौँ ।’ अन्य रेलमार्ग निर्माणका कामहरुमा समेत पछिल्लो समय कोरोनाका कारण असर परेको उनको भनाइ छ ।

 

यसअघि पटक पटक रेल चलाउने मिति तोकिए पनि कानुन, जनशक्ति अभावमा रेल संचालन हुन सकेको थिएन । अहिले पनि कोरोना जोखिम कायमै रहेकाले तोकिएको मितिमै रेल संचालन हुनेमा शंका छ ।

 

सरकारले असोज २ गते ८४ करोड खर्चेर जनकपुर–जयनगर रुटमा संचालन गर्न रेल ल्याएको थियो । धनुषाको इनरुवामा उक्त रेललाई ९ महिनादेखि त्रिपाल ओढाएर राखिएको छ । हालको अवस्थामा कोरोनाका कारण मजदूर नहुँदा असहज भएको उनी बताउँछिन् । कर्मचारी नियुक्तिका लागि आह्वान गरिसकेका उनले बताइन् ।

 

रेल सञ्चालनका लागि झण्डै २३७ कर्मचारी चाहिने छ । सो कर्मचारी नियुक्तिका लागि आह्वान गरिएको छ । ‘अहिले कोभिड १९ का कारण कर्मचारी नियूक्ती हुन सकेको छैन तर, हामीले प्रोसेस अगाडि बढाइ सकेका छौँ’ बज्र्रचार्यले भनिन् ।

 

जयनगर–कुर्था रेलमार्ग गत आर्थिक वर्ष २०७६/७७ भित्रै सञ्चालनमा ल्याउने लक्ष्य रहेको थियो । तर, कोभिड लगायत विभिन्न समस्याका कारण रेल सञ्चालनमा ढिलाइ भएको विभागले जनाएको छ ।

 

भारत नेपाल क्रस बोडर ५ वटा ठाउँमा रेलमार्ग बनाउने एमओयू भएको छ । त्यस मध्ये २ ठाउँमा काम भइरहेको छ । जयनगर–जनकपुर ६९ किलोमिटरको काम र जोगबनीमा रेलमार्ग निर्माणको काम भइरहेको हो ।

 

बर्दिबासतर्फ जग्गा अधिकरण भएर निर्माणको काम शुरु भइरहेको उनले बताए । जोगमनी–विराटनगर रेलमार्गको ५ किलोमिटर खण्ड ट्रयाक बेल्ट बिछ्याउने काम पूरा भइसकेको छ । कुल १८ किलोमिटर रेलमार्ग मध्ये बथनाहाबाट नेपाल कस्टम याडसम्म रेलमार्ग निर्माण सम्पन्न भएको हो ।

 

सो स्थानमा निकट भविष्यमा रेल सेवा सञ्चालनमा आउने सूचना अधिकारी चित्रकारले जनकारी दिए । सो रेल मार्ग यात्रुका लागि नभई विशेषगरी सामान ढुवानीका लागि सञ्चालन गरिने छ ।

 

बाँकी खण्डहरुमा जग्गा प्राप्तीको काम सम्पन्न गरिसकेको उनले बताए । क्रस बोडर रेलमार्ग अन्तर्गत बन्दै गरेका ५ वटै रेलमार्गको काम भारतकै प्राविधिक तथा आर्थिक सहयोगमा भइरहेकोछ । भारतले यो प्रोजेक्ट ५०० करोडमा सम्पन्न गर्ने भनेको भएता पनि ढिलाइका कारण अब ७०० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ ।

 

हेटौंडा-भरतपुर-मेघौली मेट्रो रेल सञ्चालन गर्ने घोषणा Read Previous

हेटौंडा-भरतपुर-मेघौली मेट्रो रेल सञ्चालन गर्ने घोषणा

बालकुमारी-बल्खु सडकमा स्मार्ट सडकबत्ती जडान गरिँदै, १७ करोड खर्च हुने Read Next

बालकुमारी-बल्खु सडकमा स्मार्ट सडकबत्ती जडान गरिँदै, १७ करोड खर्च हुने