काठमाडौं । भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीले आफ्नो एयरपोर्ट होल्डिङ कम्पनीको साधरण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।
‘अडानी एयरपोर्टस् होल्डिङ्स’ को झण्डै ३० हजार करोड भारतीय रुपैयाँ बराबरको आइपीओ जारी गर्न तयारी शुरु भइसकेको जनाइएको छ ।
आइपीओ रकम २५ हजार ५०० करोडदेखि २९ हजार २०० करोड भारुसम्म रहने अनुमान गरिएको छ । अडानीले आफ्नो होल्डिङ कम्पनीबाट एयरपोर्ट बिजनेसलाई अलग गर्ने योजनास्वरुप आइपीओ तयारी गरेको बताइएको छ ।
भारतमा मुकेस अम्बानीपछि दोस्रो धनी व्यक्तिका रुपमा गौतम अडानी रहेका छन् । अडानीले मुख्यगरी पूर्वाधारको क्षेत्रमा लगानी गर्दै आएका छन् । सुरुवातमा उनको लगानी कोइलामा रहेको थियो । तर पछिल्लो समय विविधिकरण गर्दै खानी, पोर्ट, पावर प्लान्टदेखि एयरपोर्ट र डाटा सेन्टरमा समेत लगानी पुर्याएका छन् ।
अडानी एयरपोर्टले सन् २०१९ मा भारतका ६ वटा क्षेत्रीय एयरपोर्टहरुलाई आधुनिकीकरण गरी सञ्चालन गर्ने जिम्मेवारी पाएदेखि नै एयरपोर्ट बिजनेसमा सक्रिय रहँदै आएको छ । यसबाहेक भारतको दोस्रो व्यस्त एयरपोर्टको रुपमा चिनिने मुम्बई एयरपोर्ट पनि अडानीले सञ्चालन गर्दै आएको छ ।