कर बुझाउन नसक्नेलाई जरिवाना नलगाउन निजी क्षेत्रको माग

काठमाडौं । निजी क्षेत्रका ३ ठूला संगठनले निषेधाज्ञाको अवधिमा कर बुझाउन नसकेका उद्योगी व्यवसायीलाई जरिवाना नलगाउन आग्रह गरेका छन् ।

 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर र नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले संयुक्त विज्ञप्ति निकालेर उक्त आग्रह गरेका हुन् ।

 

चालु आर्थिक बर्षको दोस्रो त्रैमासदेखि देखिएको अर्थतन्त्रको सुधार कोभिड-१९ को दोस्रो लहरले अवरूद्ध भएकाले कर बुझाउन नसक्नेलाई जरिवाना नलगाउन र सक्ने व्यवसायीले राजस्व बुझाउन निजी क्षेत्रले अपिल गरेका हुन् ।

 

दोस्रो लहरको रोकथामका लागि लगाइएको निषेधाज्ञाका कारण उद्यम व्यवसाय ठप्प प्राय रहेको र मुलुकभरका करिब ७० प्रतिशत उद्यम व्यवसाय यतिखेर प्रभावित भएको प्रारम्भिक आकलन रहेको निजी क्षेत्रको अनुमान छ ।

 

जेठ १५ गते सार्वजनिक भएको आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत आर्थिक पुनरूत्थान र निजी क्षेत्रको विकासका लागि निजी क्षेत्रले उठाएका धेरै विषय सम्बोधन भएको उनीहरुको भनाइ छ ।

 

‘निषेधाज्ञाले आवागमन समेत अवरुद्ध हुँदा मासिकरूपमा बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर, अन्तःशुल्क लगायतको विवरण र कर रकम बुझाउन सक्ने परिस्थिति छैन । यो विषम अवस्था समेतलाई मनन गरीे कर राजस्व बुझाउन नसकेका उद्यमी व्यवसायीलाई कुनै पनि प्रकारको जरिवाना नलगाउन हामी सरकारसँग अनुरोध गर्दछौं’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

 

साथै, व्यवसाय संचालनमा रहेका र राजस्व बुझाउन सक्ने उद्यमी व्यवसायीलाई गत बर्षजस्तै समयमा राजस्व बुझाएर आफ्नो दायित्व पूरा गरी सरकारलाई सहयोग गर्न पनि हामी हार्दिक आग्रह गर्दछौँ ।

 

‘अर्थतन्त्रलाई कोभिडको जोखिमबाट जोगाई अगाडि लैजान र बजेटको पूर्ण कार्यान्वयन गरी आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, कामदार कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने सुनिश्चतता गराउन समेत हामी निजी क्षेत्रका छाता संस्थाहरू संयुक्त रूपमा नेपाल सरकार समक्ष आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।’

भारतले मानसरोवर जाने सडक बनाउँदा नेपालतिरको बाटो अवरुद्ध Read Previous

भारतले मानसरोवर जाने सडक बनाउँदा नेपालतिरको बाटो अवरुद्ध

एल सल्भाडर बन्यो बिटक्वाइनलाई कानुनी मुद्राको मान्यता दिने विश्वको पहिलो मुलुक Read Next

एल सल्भाडर बन्यो बिटक्वाइनलाई कानुनी मुद्राको मान्यता दिने विश्वको पहिलो मुलुक