फास्ट ट्रयाकमा सुरुङ बनाउन चिनियाँ कम्पनीले थाल्यो सर्भे, ३ वर्षमा निर्माण सक्ने
चाणक्य पोष्ट
प्रकाशित : 9:10 am, बिहीबार, जेठ २७, २०७८

काठमाडौं । फास्ट ट्रयाक (द्रुत मार्ग)मा सुरुङमार्ग (टनेल) निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीले सर्भे शुरु गरेको छ । चिनियाँ कम्पनीले फिल्डमा जनशक्ति खटाएर सुरुङमार्ग निर्माणका लागि सर्वेक्षण शुरु गरेको हो ।

 

निर्माणको ठेक्का पाएका दुई वटा निर्माण कम्पनीका प्राविधिक फिल्डमा आएर काम शुरु गरेको एक हप्ता भएको नेपाली सेनाले जनाएको छ । पहिलो प्याकेजमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र दोस्रो प्याकेजमा पोली चङ्दा इन्जिनियरिङ कर्पोरेसन कम्पनीले ठेक्का पाएका छन् ।

 

केही साता भित्र डिजाइन निर्माणका लागि समेत चिनियाँ जनशक्ति आउने क्रममा रहेको नेपाल सेनाका प्रवक्ता सन्तोष बल्लब पौडेलले बताए । हाल चिनियाँ कम्पनीले जियोफिजिकल सर्वे गरिरहेको हो । यसलगतै टनेलको जिडाइन समेत बताइने छ । चिनियाँ कम्पनीसँग टनेको डिजाइ निर्माणका लागि ६ महिना समय रहेको छ । टनेल निर्माणमा ढिलाइ नहोस भनेर चिनियाँ कम्पनीले मोबिलाइजेसन अघिनै काम शुरु गरेको पौडेलले बताए ।

 

यस्तै, चिनियाँ कम्पनीले फाइल इन्जिनीयरिङ प्रोक्यूमेन्ट कन्ट्रयाक्ट (ईपीसी) मोडलमा टनेल बनाउन लागेको हो । यस अन्तर्गत प्लानीङ, डिजाइन, इन्जिनेरिङ, प्रोक्यूमेन्ट, कन्स्ट्रक्सन तथा कम्माइनिङ सबै काम गर्नु पर्ने छ । निषेधाज्ञा अघि चिनियाँ कम्पनीसँग टनेल निर्माणका लागि सेनाले सम्झौता गरिसकेको छ ।

 

फास्ट ट्रयाक अन्तर्गत ३ वटा सुरुङ बन्नेछन् । पहिलो प्याकेजमा चाइना स्टेटले छोक्रेडाँडादेखि धेद्रेसम्म ३.३५५ किलोमिटर सुरुङ निर्माण गर्नेछ ।  यसको ठेक्का रकम २१ अर्ब ६१ करोड रुपैयाँ छ ।

 

यस्तै, दोस्रो प्याकेज अन्तर्गत पोली चङ्दाले धेद्रेदेखि लेनडाँडासम्म ३.०३ किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ । यसको ठेक्का रकम २८ अर्ब ५३ करोड रुपैयाँ छ । यो प्याकेज अन्तर्गत धेद्रेदेखि लेनडाँडासम्म दुई वटा सुरुङ निर्माण गर्नुपर्नेछ । यी दुवै प्याकेजमका सुरुङ ३ वर्ष भित्र निर्माण गरिसक्नुपर्ने प्रवक्ता पौडेलले बताए ।

 

मोबिलाइजेसन बिनै काम शुरु गर्नु उत्साहजनक : सेना

 

मोबिलाइजेसन अनुमति नपाएको चिनियाँ कम्पनीले सुरुङ निर्माणमा निकै हतार गरेको छ । अबको ६ महिना भित्र डिजाइन पुरा गर्नु पर्ने उक्त चिनियाँ कम्पनीले हालसम्म मोबिलाइजेसन अनुमति भने पाएको छैन । बैंक ग्यारेन्टी नदिइ मोबिलाइजेसन दिन नपाइने भएकाले सेनाले हालसम्म मोबिलाइजेसनको अनुमती नदिएको हो । चिनियाँ कम्पनीले बैंक ग्यारेन्टी ल्याएपछि मात्र सेनाले मोबिलाइजेसनको अनुमती दिने छ ।

 

चिनियाँ कम्पनीले सुरुङ निर्माण तथा सर्भेमा मोबिलाइजेसन नपाई काम शुरु गर्नु उत्साहजनक रहेको सेना प्रवक्ता पौडेल बताउँछन् । उनका अनुसार डिजाइनका लागि समय कम बचेकाले उनीहरुले छिटै काम शुरु गरेका हुन् ।

 

‘चिनियाँ कम्पनीले टनेल निर्माणमा निकै चासो देखाएको हो, उनीहरु उत्साह पूर्वक काममा लागेका छन्, सर्वे लगतै टनेलको डिजाइन पनि बनाउनु पर्ने भएकाले उनीहरुले छिटै काम शुरु गरेका हुन,’ पौडेलले चाणक्य पोष्टसँग भने ‘कम्पनीले सेन्सर अफ ओरिजन पाइसकेको छ, त्यस अनुसार मोबिलाइजेसन अघि नै काम शुरु गर्नु कुनै गलत हैन, फेरि उनीहरु समयमै टनेलको डिजाइन पनि पूरा  गर्न चाहान्छन्, सुरुङ निर्माणको समयमा सक्नु पर्ने बाध्यता पनि छ ।’

 

चिनियाँ कम्पनीले मोबिलाइजेसन प्राप्त गरेको ३ वर्ष भित्र टनेल निर्माणको सम्पूर्ण काम सक्नु पर्ने छ । हाललाई मोबिलाइजेसन नपाए पनि सरकारले बैंक लोन, तथा अन्य कुराहरुमा सहजीकरण गर्ने उनले बताए ।

 

हाल फास्ट ट्रयाक अन्तर्गत जग्गा प्राप्ती, रुख कटान, कटिङ फिलिङ लगायतका काम हरु भइरहेका छन् । फास्ट ट्रयाक अन्तर्गत १४ वटा मध्ये ८ वटा बेली ब्रीज जडान भइसकेको छ । अन्य ८ वटा जडानको क्रममा रहेको छ ।

 

कोभिड १९ को दोस्रो लहरका समयमा निषेधाज्ञ बीच फास्ट ट्रयाक निर्माणको काम कतै नरोकिएको पौडेलले बताए । उनका अनुसार निर्माण स्टलहरुमा आइसोलेसन निर्माण गरी कामलाई गति दिइएको छ ।

 

महादेवटारमा ९, धेद्रेमा ५ र लेनडाँडामा ४ गरी कुल १८ स्थानमा बेली ब्रिज निर्माण गर्नु पर्ने थियो ।