नेप्सेमा दोहोरो अंकको करेक्शन, यी ८ कम्पनीका लगानीकर्ता भने मालामाल
चाणक्य पोष्ट
प्रकाशित : 3:28 pm, बुधबार, जेठ २६, २०७८

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । यससाताको तीन दिनमै १०३ अंकले बढेको बजारमा आज दोहोरो अंकको करेक्शन आएको हो ।

 

प्रफिट बुक गर्ने हाबी हुँदा विक्री चाप बढ्दा बजारमा करेक्शन आएको हो । दोहोरो अंकको करेक्शन आए पनि कारोबार रकम भने उल्लेख्य रहेको छ ।

 

बजार घटेको बेला सस्तोमा सेयर उठाउनेले मौका छोप्दा एकैदिन १६ अर्ब ९९ करोडको कारोबार भएको छ । यो हालसम्मकै तेस्रो धेरै कारोबार हो ।

 

आज सेयर बजार मापक सूचक नेप्से १३.५६ अंकले घटेर २९४६.५८ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२१ कम्पनीको १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँ बराबरको ३ करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ६ समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ समूहको परिसूचक राताम्मे भएका छन् । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै २३७.४६ अंकले बढेको छ भने विकास बैंक समूह २११.८८ अंकले घटेको छ ।

 

आज कारोबारमा आएका २२१ कम्पनीमध्ये ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३५ कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ८७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनी ६१ करोड र नेपाल इन्स्योरेन्स ५१ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा पनि आज ८ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । नेपाल इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर, सीडईडीबी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, रिडी, हाइड्रोपावर, वरुण हाइड्रोपावर, पोखरा फाइनान्स र प्रभु इन्स्योरेन्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा आज युनाइटेड इदी मार्दी हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले सबैभन्दा धेरै करिब १० प्रतिशत गुमाएका छन् ।