कोरोनाले शिथिल भारतीय अर्थतन्त्र ‘यू’ आकारमा रिकभर हुने
चाणक्य पोष्ट
प्रकाशित : 5:12 pm, मंगलबार, जेठ २५, २०७८

काठमाडौं । भारतको अर्थतन्त्र आगामी अगष्ट महिनामा ‘यू’ आकारले रिकभर हुने विज्ञहरुले बताएका छन् । कोरोना महामारीको दोस्रो लहरले भारतीय अर्थतन्त्र नराम्रोसँग थलिएको छ । अर्थतन्त्र आगामी २ महिना अझै सुस्त हुने र त्यसपछि भने गति लिने उनीहरुले दाबी गरेका हुन् । यद्यपि भारतीय सरकारले भने अझ चाँडै अर्थतन्त्र उकालो लाग्ने बताएको छ ।

 

कोरोनाको पहिलो लहरमा भारतीय अर्थतन्त्र ‘भी’ आकारमा रिकभर भएको थियो । तर यसपाली भने अर्थतन्त्रले गति लिन केही समय लाग्ने र त्यसको आकार ‘यू’ हुने अर्थशास्त्रीहरुले धारणा रहेको छ ।

 

यसपालीको महामारीले उच्च र मध्यम वर्गलाई पनि धेरै प्रभाव पारेका कारण अघिल्लो वर्ष जस्तै प्रतिबन्ध लगत्तै मागमा व्यापक बढोत्तरी नहुने अर्थशास्त्रीहरुले आंकलन गरेका छन् ।

 

अहिलेको दोस्रो लहरले ग्रामीण भारतमा पनि ठूलो प्रभाव पारेको छ ।अघिल्लो वर्ष मागमा भएको व्यापक वृद्धि र बिदाको सिजनका कारण अर्थतन्त्रले छिट्टै गति लिएको थियो । यसपाली भने अघिल्लो वर्षको तुलनामा धेरै मानिसहरु प्रभावीत भएका छन् । र, तेस्रो लहरको महामारीको अनुमानका कारण मानिसहरु अझै त्रसित अवस्थामा छन् ।

 

अहिलेको तथ्याङ्कको अनुसार भारतमा दैनिक कोरोना संक्रमितको संख्या १ लाख भन्दा तल झरिसकेको छ । यद्यपी मानिसहरुमा त्रास भने अझै केही समय रहने देखिन्छ । अप्रिल महिनाको अन्त्यतिर भारतमा दैनिक ४ लाख भन्दा धेरै संक्रमितहरु भेटिएका थिए भने दैनिक मृत्यू हुनेको संख्या ४ हजार भन्दा बढि थियो ।

 

उच्च मृत्यूका कारण मानिसहरुमा छाएको त्रासको वातावरण अझै केही समय रहने हुँदा त्यसले उपभोग र मागमा बढोत्तरी हुन केही समय लाग्ने विज्ञहरुले अनुमान गरेका छन् ।

 

राज्य सरकारहरु पनि अहिल्यै प्रतिबन्ध खुकुलो पार्न हिचकिचाइरहेका छन् । महाराष्ट्र, दिल्ली, बिहार जस्ता राज्यहरुमा दोस्रो लहरले धेरै प्रभाव पारेको र भ्याक्सिनको आपूर्ति पनि सहज नभइसकेको अवस्थामा उनीहरु सहज रुपमा प्रतिबन्धहरु फुकाउन अझै तयार देखिएका छैनन् ।

 

यसपाली मानिसहरुको धेरै घरेलु बचत मेडिकल खर्चमा सकिएका कारण पनि उपभोग घट्ने अनुमान गरिएको हो । गत वर्ष देखि यो वर्षसम्म भारको प्रति व्यक्ति कुल ग्राहस्थ उत्पादन पनि ८.२ प्रतिशतले घटेको छ, जसको प्रभाव सोझै उपभोगमा पर्छ ।

 

सरकारले भने सोचे भन्दा चाँडै आर्थिक रिकभरी हुने दाबी गरेको छ । जुन महिनाको अन्त्यबाटै अर्थतन्त्रले गति लिने सरकारका प्रमुख आर्थिक सल्लाहकार केभी सुब्रमनियमले बताएका छन् ।

 

अर्थशास्त्रीहरुले भने समाजका तल्लो वर्गका मानिसहरुलाई सरकारले धेरै सहयोग गर्नु पर्ने बताउँछन् । उसले अर्थतन्त्रलाई गति दिन सहयोग पुर्याउने उनीहरुको मत छ । अर्थशास्त्री सुनिल कुमार सिन्हाका अनुसार सरकारले तल्लो वर्गको सहयोगका लागि प्रत्यक्ष रुपमा पैसाका अलावा खाद्यान्न वितरण समेत गर्न सक्नेछ । प्रधानमन्त्री नरेन्द्र मोदीले गत सोमबार आफ्नो संबोधन मार्फत ८० करोड मानिसहरुलाई आगामी नोभेम्बर महिनासम्म नि:शुल्क खाद्यान्न उपलब्ध गराइने बताएका थिए ।

 

‘कोरोना लागेपछि मानिसहरु धेरै शारिरिक श्रम गर्न सक्दैनन् । र, यदि उनीहरु घरको प्रमुख आम्दानीकर्ता रहेछन् भने त्यस्तो बेला सरकारले उनीहरुलाई सहयोग गर्नुपर्छ । प्रत्यक्ष आम्दानी र खाद्यान्न अनुदान दिन सकिन्छ,’ सिन्हा भन्छन् ।