तामाकोशीको पहिलो टर्बाइनको परीक्षण सफल, ७६ मेगावाट उत्पादन शुरु गरिँदै

काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय गौरवको ४५६ मेगावाट माथिल्लो तामाकोशी आयोजनाको पहिलो टर्बाइनको परीक्षण सफल भएको छ । मुख्य सुरुङको परीक्षण सकेपछि पहिलो टबाईनबाट ७६ मेगावाट विद्युत् उत्पादनको परीक्षण सफल भएको आयोजनाले जनाएको हो ।

 

आयोजनाले वैशाख १६ गतेदेखि मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी हालेर परीक्षण शुरु गरेको थियो । सोही क्रममा पेनस्टकको बिर्को (म्यानहोल) चुहावट भएपछि त्यसको मर्मत सम्पन्न गरी पहिलो टर्बाइनको सफल परीक्षण गरेको हो ।

 

अबको केही दिनमै पहिलो टबाईनबाट विद्युत् उत्पादन शुरु गरिने आयोजनाले जनाएको छ । अब क्रमशः सबै टर्बाइनको परीक्षण गरी असार भित्र ३ वटा टबाईनबाट २२८ मेगावाट विद्युत् उत्पादन गरिने लक्ष्य आयोजनाको छ ।

 

मुख्य निर्माणअन्तर्गत बाँधरइन्टेक, मुख्य सुरुङ, विद्युत् गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । जलाशय र बालुवा थिग्र्याउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचना र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।

 

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना यही चैतमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । कोरोना र केही प्राविधिक जटिलताका कारण आयोजनाको काममा ढिलाइ भएको हो ।

 

२०६८ सालमा निर्माण शुरू गर्दा यस आयोजनाको लागत कुल ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो । २०७७ पुसमा निर्माण सम्पन्न हुने प्रक्षेपणसहित यसको लागत ८३ अर्ब ७६ करोड प्रक्षेपण गरिएको थियो । यसमध्ये ५३ अर्ब लागत खर्च रहेको छ भने ३० अर्ब रुपैयाँ ब्याज रहेको छ ।

 

आयोजना पूर्णरुपमा संचालनमा आएपछि वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले विद्युत् विक्रीबाट वार्षिक करिब ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ ।

अस्पतालहरुले १ हप्ता भित्र उपचार खर्च सार्वजनिक गरिसक्नुपर्ने Read Previous

अस्पतालहरुले १ हप्ता भित्र उपचार खर्च सार्वजनिक गरिसक्नुपर्ने

काठमाडौंमा निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याइयो, अब यी काम गर्न पाइने Read Next

काठमाडौंमा निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याइयो, अब यी काम गर्न पाइने